रैथाने खानामा विदेशीको आकर्षण, दसैं परिकार अब नियमित मेनु हुने « Eglish Khabarhub

रैथाने खानामा विदेशीको आकर्षण, दसैं परिकार अब नियमित मेनु हुने



काठमाडौं । ४ वर्षअघि नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियान सुरु भयो । त्यसयता नेपाली खानाको आकर्षण विस्तारै बढ्दै गएको छ ।

नेपाली रैथाने खानालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सकिए यसको आकर्षणले नेपाली खाना र नेपालको महत्वलाई बढाउने भन्दै नयाँ मेनुको प्रवद्र्धन गर्ने तयारीमा होटल संघ नेपालले (हान) नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियान सुरु गरेको हो । नेपालको पर्यटन प्रबद्र्धनमा नेपाली खानाको पनि महत्वपूर्ण योगदान हुन सक्छ भन्ने सोचेर नै हानले नेपाली खानाको मेनु तयार गर्न लागेको हो ।

नेपाली खानालाई नियमित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आएको हानले अब यस वर्षको दसैंदेखि ‘दसैं परिकार’को नाममा ब्राण्डिङ गर्ने भएको छ । जनै पुर्णिमामा नेपाली खानाको रुपमा क्वाटीको प्रवद्र्धन गर्दै आएको हानले नेपाली खानाको पनि प्रवद्र्धन गर्न थालेको हो ।

रैथाने खानालाई स्थपित ब्राण्ड बनाएर थप मेनु तयार गर्न लागेको हानका अध्यक्ष विनायक शाहले बताए । ‘हाल विदेशमा नेपाली नाउँ भएका थुप्रै रेस्टुरेन्ट छन्, उनले भने, ‘त्यहाँ नेपाली खाना पनि पाइन्छ ।’

बेलायत, अमेरिका, फ्रान्स, जर्मनी, पोर्चुगलसहितका देशमा जहाँ नेपाली पुगेका छन्् त्यहाँ नेपाली नामका रेस्टुरेन्ट खुलेका छन् । त्यही रेस्टुरेन्टमा अहिले रैथाने खानाको मेनु पनि पाइन थालेको छ । ‘नेपालीले चलाएका ती रेस्टुरेन्टमा पाइने खानाको स्वादले विदेशी आकर्षित भइरहेका छन्,’ शाहले भने ।

हानले २०७५ सालमा नेपाली रैथाने खानाको कुक बुक सार्वजनिक गरेपछि अनलाइनमै नेपाली खानाको रेसिपि उपलब्ध गराएको छ । त्यसपछि नेपाली रैथाने खानलाई विश्वभर पुर्याउन सहज भएको पनि शाहले बताए ।

शाहका अनुसार चाडपर्व अनुुसार खाना खुवाउन हानले दसैं परिकार ल्याएको हो । दसैं परिकार यो वर्ष सिमित होटलबाट सुरु गरिएको छ भने अब नियमितरुपमा होटलको मेनु बन्ने पनि शाहले बताए ।

यो वर्ष झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल, चितवनको जंगल सफारी लज, पोखराको होटल बाराहीमा दसैं परिकार राखिएको छ । यो परिकार काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घरमा उपलब्ध छ । यसमा पर्यटक तथा स्थानीयहरुको राम्रो सहभागिता रहेको हानले जानकारी दिएको छ ।

होटलहरुले दशैंमा खाइने खानामा थरिथरीका मांसाहारी परिकार पर्यटकहरु माझ आकर्षक छुटका साथ पस्किएका छन् । घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमासम्म १५ दिनसम्मलाई दसैं परिकार राखिएको होटलहरुको भनाइ छ ।
हानका अध्यक्ष शाहका अनुसार अब आउने जनावरीमा हुने अतिथ्य दिवसको अवसर पारेर सातै प्रदेशको खानाको पनि विशेष मेनुको तयारी भएको छ । नेपालको पूर्वदेखि पश्चिमम्म परिचित रहेका रैथाने नेपाली खानलाई मेनुमा राख्ने र अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने तयारी भइरहेको पनि शाहले बताए ।

हानका महासचिव साजन शाक्यका अनुसार हानले हरेक चाडपर्वको लागि नेपालीले जे रैथाने खाना खान्छन त्यही मेनु बनाउने पनि बताए ।

यस अघि जनै पूर्णिमामा क्वाँटी मेनुमा राखिएको थियो । पर्यटकले क्वाँटी रुचाएका कारण यसलाई बर्षेनी निन्तरता दिन थालिएको छ । अब नेपालीका हरेक चाडपर्वमा पर्यटकले पनि सोही अनुसारको नेपाली खाना खान पाउने शाक्यको भनाइ छ ।
हानका अनुसार नेपाली रैथाने खाना अन्तर्राष्ट्रिय स्तरमा निकै लोकप्रीय बन्दै गएको छ । यस्तो खानामा क्वाँटी, सिस्नोको झोल, फाँडो, ज्वानोको झोल, पंचका (आलुतामा बोडीको झोल)को सुप परिकारमा राखिएको छ ।

खाजाको परिकारमा चुक, सखरखण्ड, ताजा सागपातको सलाद, चुकौनी, टिमुरे आलु, फूरौलासहितका परिकार हुन्छन् ।
मुख्य खानामा सेकुवा, तरुवा, पकुवा, छोयला, साँधेको, उसिनेको, मःम, चटामरी, ढुंग्रे रोटी, बारा, जोगिभात, दालभात, हिमाली ढिँडो निकै लोकप्रिय हुँदै गएको छ ।

नेपाली रैथाने खानाको मेनुमा डेजर्टतर्फ योमरी, सिकर्नी, दहीफल, खिर र ठेकुवा परिचित भएको पनि हानको भनाइ छ ।

Publish on: