काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले न्यूरोडमा व्यापारीहरुलाई सवारी साधन पार्किङ गर्न नदिने तयारी थालेका छन् ।
व्यापारीहरुले दिनभरी सवारी साधन पार्किङ गरेकै कारण न्यूरोडमा सर्वसाधारण र ग्राहकहरुलाई पार्किङका लागि ठाउँ नभएको भन्दै मेयर शाक्यले यस्तो व्यवस्था गर्न लागेको जानकारी दिए ।
महानगरले टेकुमा रहेको आफ्नो ७ रोपनी जग्गामा पार्किङ भवन बनाउने गृहकार्य थालेको छ । जसको उद्देश्य नै व्यापारीहरुले टेकुमा गाडी पार्किङ गरी ५/७ मिनेट हिँडेर न्यूरोड क्षेत्रको आफ्नो कार्यालय जाउन भन्ने हो ।
‘साहुजीहरुले बिहानदेखि बेलुकासम्म न्यूरोडमा पार्किङ गरिदिँदा ग्राहकले पार्किङ गर्नै पाएनन् । त्यसैले मैले व्यापारीहरुलाई न्यूरोडमा पार्किङ गर्न नदिने व्यवस्था गर्न लागेको छु,’ शाक्यले क्लिकमाण्डूसँग भने, ‘महानगरले टेकुमा पार्किङ भवन बनाउने छ । न्यूरोड क्षेत्रका व्यापारीहरुले टेकुमा पार्किङ गरेर आफ्नो अफिस जानु पर्छ ।’
यस विषयमा आफूले न्यूरोडका व्यापारीहरुसँग छलफल गरिरहेको उनले बताए ।
‘व्यापारीहरुलाई भनिरहेको छु कि तपाईंहरु टेकुमा पार्किङ गरेर न्यूरोड आउनु पर्यो,’ उनले भने ।
महानगरले टेकुमा रहेको आफ्नो ७ रोपनी जग्गामा पार्किङ भवन बनाउने गृहकार्य थालेको छ । जसको उद्देश्य नै व्यापारीहरुले टेकुमा गाडी पार्किङ गरी ५/७ मिनेट हिँडेर न्यूरोड क्षेत्रको आफ्नो कार्यालय जाउन भन्ने हो ।
टेकुबाट न्यरोड र रिङरोड दुबै नजिकै पर्छ । जसकारण शहरभित्र छिर्न र शहरबाट निष्कन पनि टेकुको पार्किङ उपयोगी हुने शाक्य बताउँछन् ।
‘काठमाडौं महानगरभित्र पार्किङ स्थल र ट्राफिक जामको निकै ठूलो समस्या छ,’ उनले भने, ‘यो समस्याको समाधान गर्न महानगरले व्यापारीहरुलाई न्यूरोडबाहिर पार्किङस्थल बनाइदिन लागेको हो ।’
न्यूरोडमा भने न्यूरोडमा छोटो समयका लागि सवारीसाधन पार्किङ गर्न प्रोत्साहित गर्ने शाक्यले बताए ।
‘मेरो योजनाअनुसार न्यूरोडमा ग्राहकले मात्रै पार्किङ गरुन् भन्ने हो,’ उनले सुनाए ।
आफ्नै कार्यकालमा महानगरले १÷२ वटा पार्किङ भवन बनाएपछि निजी क्षेत्रले १० वटा पार्किङ भवन बनाउने उनको विश्वास छ ।
‘हामी निजी क्षेत्रलाई प्रोत्साहन गर्छौ । अहिले निजी क्षेत्र डराइरहेको छ । महानगरले सुरु गरेपछि निजी क्षेत्र अघि बढ्छ । र, मेरै कार्यकालमा १०÷१२ वटा पार्किङ भवनहरु बन्नेछन्,’ उनले भने ।
शाक्यका अनुसार महानगरको पुरानो कार्यालय रहेको क्षेत्रमा पार्किङ भवन बनाउनका लागि संभाव्यता अध्ययन भइरहेको छ । जापानिजहरुले ४ तला र इण्डियनहरुले ७ तलासम्म बनाउन सकिने प्रस्ताब गरेका छन् ।
‘कति तला बनाउने भनेर हामीले निर्णय गरिसकेका छैनौं । तर, हामी पार्किङ भवन बनाउँछौं नै । एक वर्षभित्र तयार हुन्छ ।’ उनले भने ।
न्यूरोडतिरका व्यापारीहरुले बरु हामी पैसा तिर्छौं तर पार्किङ व्यवस्थित गरिदिनु पर्यो भन्ने आग्रहका आधारमा महानगरले पार्किङ शुल्क तोकेको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS