
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को कोरियन भाषामा यसअघि सिप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने भएका छन् ।
ईपीएस शाखा कार्यालयले सूचना जारी गर्दै सिप बिल्डिङमा आवेदन दिई परीक्षामा सामेल भई अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने प्रष्ट पारेको छ ।
शाखा कार्यालयले यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन माग गरेको थियो । कार्यालयले सिप बिल्डिङको पहिलो चरणको कोरियन भाषा परीक्षा सम्पन्न गरी नतिजा पनि प्रकाशन गरिसकेको छ । कार्यालयले मंसिर ११ गते सूचना प्रकाशित गर्दै ४ हजार ९८ जना पास भएको जानकारी दिएको छ ।
सिप बिल्डिङ क्षेत्रमा ३५ हजार ४७८ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३२ हजार ५०७ जना परीक्षामा सहभागी भएका थिए । परीक्षा दिएकामध्ये १२.६ प्रतिशतमात्र पास भएका छन् ।
नेपालीहरुको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाले हालै मात्रै उत्पादनमूलक क्षेत्रका लागि आवेदन माग गरेको छ । शाखा कार्यालयले उत्पादनमूलक क्षेत्रका लागि योग्यता पुगेका नेपाली नागरिकले आगामी पुस २ गतेदेखि पुस ६ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा करिब १६ हजार नेपाली कामदार माग गरेको छ । कोरिया सरकारले हालसम्मकै बढी कामदार माग गरेको हो । तर, सिप बिल्डिङ परीक्षामा सहभागी भइ फेल भएका परीक्षार्थीहरुले भने उत्पादनमूलक क्षेत्रमा आवेदनसमेत दिन पाउने छैनन् ।
‘सिप बिल्डिङ क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरुले पछि हुने अन्य क्षेत्रको परीक्षा आवेदनहरु प्रकाशित भएमा सो परीक्षाका लागि समेत आवेदन गर्न सक्नेछन् भन्ने उल्लेख भए पनि एचआरडी सर्भिस अफ कोरियाको ३१ जुलाई २०२३ को पत्रानुसार एउटै वर्षमा फरक-फरक क्षेत्रको लागि आवेदन गर्न नपाउने उल्लेख भई आएकोले सन् २०२३ मा जुनसुकै क्षेत्रको यसबीटी परीक्षाको लागि आवेदन गरेका व्यक्तिहरुले सन् २०२३ मै पुनः अर्को क्षेत्रको भाषा परीक्षाको लागि आवेदन खुलेमा सो क्षेत्रमा आवेदन गर्न पाउने छैनन्,’ सूचना उल्लेख छ ।
शाखाका निर्देशक गुरुदत्त सुवेदीले सिप बिल्डिङमा आवेदन दिई उत्तीर्ण नभएका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने बताए । उनकाअनुसार एचआरडी कोरियाले एक वर्षमा एक क्षेत्रबाहेक अन्य क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था गरेकाले सीपमूलकमा यसअघि फेल भएका परीक्षार्थीले आवेदन भर्न नपाउने भएका हुन् ।
ईपीएस शाखा कार्यालयले उत्पादनमूलक क्षेत्रमा उच्च संख्यामा कामदार माग भएकाले ९० हजारको हाराहारीमा आवेदन पर्ने अनुमान गरेको छ ।
‘उत्पादनमूलक क्षेत्रका लागि ८० हजारदेखि ९० हजारसम्म आवेदन पर्ने अनुमान छ,’ उनले क्लिकमान्डुसँग भने, ‘यदि सिप बिल्डिङमा आवेदन दिएकाहरुलाई खुला गर्ने हो भने बढी चाप हुने देखिन्छ । त्यसैले, एचआरडी कोरियाले यो वर्ष एक पटक आवेदन दिएका परीक्षार्थीले पुनः आवेदन दिन नपाउने व्यवस्था गरेको हो ।’
सिप बिल्डिङमा आवेदन दिएकाले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाए पनि त्यसपछि खुल्ने अन्य क्षेत्रमा दिन पाउनेछन् । उत्पादनमूलक क्षेत्रको परीक्षा भइसकेपछि कृषि क्षेत्रको लागि आवेदन माग गर्ने तयारी रहेको सुवेदीले बताए ।
उक्त क्षेत्रमा भने सिप बिल्डिङमा आवेदन दिई अनुत्तीर्ण परीक्षार्थीलेसमेत आवेदन दिन सक्नेछन् । कृषि क्षेत्रको आवेदन आगामी सन् २०२४ मा खुल्ने भएकाले यसअघि सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई पनि त्यसबेला कुनै बाधा नपर्ने उनको भनाइ छ ।
आन्दोलन गर्ने चेतावनी
सिप बिल्डिङमा आवेदन दिई अनुत्तीर्ण भएका परीक्षार्थीहरुले भने फाराम भर्न पाउनुपर्ने माग गर्दै शाखा कार्यालयलाई ध्यानाकर्षण गराएका छन् ।
परीक्षार्थीहरुले ध्यानाकर्षण गरेर माग पूरा नभएमा आन्दोलनामा उत्रिने चेतावनी दिएका छन् । सिप बिल्डिङ पीडित परीक्षार्थीले कार्यालय प्रमुखलाई १९ गते अब हुने उत्पादनमूलक क्षेत्रको आवेदन भर्न पाऊ भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षणपत्रमा ३० हजार बढी अनुत्तीर्ण परीक्षार्थीलाई अन्याय भएको भन्दै सम्पूर्ण परीक्षार्थीको लागि आवेदन खुला गर्न अनुरोध गरिएको छ ।
पीडितहरुले माग पूरा नभएको अवस्थामा मंसिर २५ गतेदेखि ३० हजार बढी परीक्षार्थीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
त्यस्तै, कोरिया सरकारले रोजगारीको क्षेत्र थप गरेको छ । कोरिया सरकारले यसअघि कृषि क्षेत्र र उत्पादनमूलक क्षेत्रमा मात्रै नेपाली कामदार लैजाने गरेको थियो । अब भने कोरिया सरकारले सेवा क्षेत्रमा पनि नेपाली कामदार लैजाने प्रतिबद्धता जनाएको छ ।
कोरिया सरकारले रोजगारीको क्षेत्र बढाएकाले नेपालीहरुलाई विभिन्न क्षेत्रमा रोजगारीको अवसर खुलेको छ । जसमा सरकारले दक्षिण कोरियामा माग भएअनुसारको कामदारको लागि आवेदन खुला गर्नेछ ।
SHARE YOUR THOUGHTS