६ महिनामै साढे ३ अर्बको प्लाइउड निर्यात, कच्चा पदार्थ उत्पादनमा सरकार उदासीन « Eglish Khabarhub

६ महिनामै साढे ३ अर्बको प्लाइउड निर्यात, कच्चा पदार्थ उत्पादनमा सरकार उदासीन


१४ माघ २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पछिल्लो समय निर्यातमा नयाँ–नयाँ उत्पादनले ठूलो हिस्सा ओगट्न थालेको छ । विगतनमा लाखौंमा निर्यात भइरहेका वस्तु तथा सेवाले पछिल्ला दिनमा निकासीको ठूलो हिस्सा ओगेट्दै गएका छन् ।

तीन वर्षअघिसम्म विशेषगरी नेपालबाट चिया, हस्तकला, अलैंची, अदुवा, प्रशोधित तेल, गार्मेन्टलगायत अन्य विभिन्न प्रकारका वस्तु उच्च निर्यात हुँदै आएको थियो । तर, पछिल्ला वर्षहरुमा नयाँ उत्पादन जस्तै, कुकुर तथा बिरालोको खाना (छुर्पी), स्टिल्स तथा आइरन, अम्रिसो, सिमेन्ट, प्लाइउडजस्ता नयाँ उत्पादित वस्तुले निर्यातमा ठूलो हिस्सा ओगेट्दै गएको सरकारी तथ्यांक छ ।

पछिल्ला वर्षहरुमा निर्यात गरी उच्च विदेशी मुद्रा भित्र्याउन अर्थात् व्यापारघाटा कम गर्नका लागि प्लाइउडको ठूलो योगदान छ। दुई वर्ष अघिसम्म कम मात्रामा निर्यात हुँदै आएको प्लाइउड अहिले ६ महिनाको अवधिमै साढे ३ अर्ब बढीको निर्यात भएको व्यापार तथा निकासी केन्द्रको तथ्यांकले देखाएको छ । अहिले मुख्य निर्यात हुने मुख्य ३७ वस्तुमध्ये प्लाइउड ८औं नम्बरमा छ । प्लाइउडले ४.७१ प्रतिशत निर्यात हिस्सा ओगटेको छ ।

निकासी केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालबाट ३ अर्ब ५३ करोड ३ लाख रुपैयाँको प्लाइउड निर्यात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब ७४ करोड ७७ लाख रुपैयाँको निर्यात गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष प्लाइउडको निर्यात १०२ प्रतिशतले बढेको छ । बढ्दो प्लाइउड निर्यात राष्ट्रको ठूलो उपलब्धि देखिन्छ ।

नेपालले आव २०७९/८० मा २ अर्ब १४ करोड ६८ लाख रुपैयाँको प्लाइउड निर्यात गरेको थियो । त्यसैगरी, आव २०७८/७९ मा ३५ करोड २२ लाख रुपैयाँ र आव २०७७/७८ मा १ करोड ४६ लाख रुपैयाँको प्लाइउड निर्यात गरेको थियो ।

सरकारले निर्यातमा सम्भावित क्षेत्रको रुपमा पहिचान गरी आव २०७९/८० को बजेटबाट ८ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । उक्त व्यवस्थाले व्यवसायी तथा उद्योगीलाई प्रोत्साहन गरेको छ । जसले गर्दा सो क्षेत्रका व्यवसायीहरुले लगानी बढाउँदै लगेका छन् । स्वदेशमै उत्पादन भएको कच्चा पदार्थ प्रयोग गरी निर्यात गर्न सक्ने सबैभन्दा सम्भावित क्षेत्र रहेको प्लाइउको निर्यातमा भने विभिन्न समस्याहरु रहेको व्यवसायीहरु बताउँछन् ।

नेपाल प्लाइउड उत्पादक संघका महासचिव अनिल शर्माले स्वदेशी उत्पादित कच्चा पदार्थ प्रयोग गरी निर्यात गर्न सक्ने क्षेत्र प्लाइउड पनि रहेको बताए । वार्षिक अर्बौं रुपैयाँको कारोबार हुने यस क्षेत्रका व्यवसायीहरु पछिल्ला दिनहरुमा निर्यातमा जोड दिएका छन् । विभिन्न समस्याका बाबजुद व्यवसायीहरुले निर्यातमा जोड दिँदा नेपालको व्यापारघाटा काम गर्न प्लाइउडको ठूलो योगदान छ ।

कोभिड तथा विभिन्न देशबीच भएको द्वन्द्वका कारण अर्थतन्त्रमा समस्या आइरहेको अवस्था छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण पूँजीगत खर्च बढ्न सकेको छैन भने सर्वसाधारणहरुले लगानी गर्नबाट डराइरहेका छन् । त्यस्तै, अर्थतन्त्रमा देखिएको समस्याले पूर्वाधार निर्माणको कार्य ठप्प हुँदा स्वदेशमा प्लाइउडको बजार निकै खस्किएको उनको भनाइ छ ।

‘अर्थतन्त्र चलायमान हुँदा वार्षिक १० अर्ब रुपैयाँ बढीको कारोबार हुँदै आएको थियो । तर, पछिल्ला दिनहरुमा विकास निर्माणको कार्यले गति लिन नसक्दा प्लाइउड क्षेत्रमा आबद्ध व्यवसायीहरु निकै मारमा छन्,’ उनले भने । हाल नेपाल प्लाइउडमा आत्मनिर्भर भइसकेको अवस्था छ । आत्मनिर्भर भई निर्यात गर्न सक्ने क्षमतामा पुगिसकेको उद्योगीहरुले अहिले निर्यातमा जोड दिइरहेको उनले बताए ।

उनकाअनुसार अर्थतन्त्रमा देखिएको समस्याले उद्योगीहरुले उत्पादन गरेको प्लाइउड खपत नभएपछि निर्यातमा जोड दिएको हो । तर, अहिले निर्यात भइरहेको प्लाइउड दीर्घकालीनरुपमा निर्यात गर्न नसक्ने उनले जिकिर गरे । नेपालको प्लाइउड भारत निर्यातमा मात्रै सीमित छ । जसले गर्दा नेपालबाट निर्यात हुने प्लाइउडले दीर्घकालीन रुप लिन नसक्ने उनले बताए ।

‘नेपालबाट प्लाइउड निर्यात हुन थालेपछि भारत सरकारले भारतकै मापदण्डअनुसार वस्तु निर्यात गर्नुेपर्ने नीति अबलम्बन गर्ने तयारी गरेको छ,’ उनले क्लिकमान्डुसँग भने, ‘उक्त नीति अबलम्बन गरे नेपालको प्लाइउड निर्यात नहुने देखिन्छ । नेपाल सरकारले पनि उक्त विषयमा चासो राखेको छ । तर, कतिको सफल हुन्छ भन्ने ठूलो कुरा हो ।’

भारत सरकारकै मापदण्डमा निर्यात गर्नका लागि सोहीअनुसारको पूर्वाधार तथा ल्याबको आवश्यकता पर्नेछ । जुन निकै लामो प्रक्रिया हो । जसले गर्दा उक्त नीति भारतले अबलम्बन गरेमा निर्यात निकै कठिन हुनेछ ।

प्लाइउडमा ७० प्रतिशत कच्चा पदार्थ स्वदेशमा उत्पादित वस्तु प्रयोग हुन्छ । प्लाइउडको मुख्य कच्चा पदार्थ भनेकै पहाडी क्षेत्रमा उत्पादन भएको उतिसको रुख हो । त्यस्तै, निजी आवादी तथा जग्गा जमिनमा उत्पादन भएको काठको प्रयोग गरी गुणस्तरीय प्लाइउड उत्पादन हुँदै आएको छ । सरकारले विभिन्न २९ वटा वनस्पतिलाई कृषिजन्य क्षेत्रमा समावेश गरेको छ । तर, यसको कार्यान्वयन भने निकै कमजोर रहेको छ ।

‘सरकारले कृषिजन्यमा समावेश गरेर बिक्री वितरणमा सहज नीति अपनाएको छ । तर, व्यवसायीहरुलाई वन कार्यालय, प्रहरीलगायत विभिन्न तहले धेरै दुःख दिने गर्छ,’ उनले भने । विगतको दिनमा स्वदेशमा नै खपत हुने प्लाइउड उत्पादन भएको क्षमताअनुसार बिक्री नभएपछि निर्यात हुन थालेको उनको भनाइ छ ।

सरकारले वन ऐन तथा नियमावली जारी गर्दै विभिन्न २९ वटा वनस्पतिलाई कृषिजन्य वस्तुमा समेटिएको छ । उक्त लागू गर्नका लागि संघले प्रदेश सरकार, स्थानीय तहलाई निर्देशन दिइसकेको अवस्था छ । निर्देशन दिएपनि कच्चा पदार्थ संकलनमा फितलो कार्यान्वयन छ । त्यसमा सरकारले अनुगमन गरेर सहज बनाउनुपर्ने व्यवसायीहरुको माग छ ।

सरकारले उत्पादनमा जोड नदिँदा समस्या

व्यवसायीहरुले दीर्घकालीन रुपमा प्लाइउडमा आत्मनिर्भर हुनका लागि विभिन्न योजना अगाडि बढाएका छन् । तर, सरकारले भने वेवास्ता गरेको उनीहरुको आरोप छ । व्यवसायीहरुले लामो समयदेखि रुख उत्पादनमा जोड दिँदै आएका छन् ।

कृषिजन्य वनस्पतिमा समावेश भएका रुखको उत्पादन गर्न सरकारले व्यवसायीसँग सहकार्य नगरेको उनीहरुको भनाइ छ ।

‘व्यवसायीहरुले रुख उत्पादनका लागि जग्गा उपलब्ध गराउन माग गर्दै आएका छन् । तर, माग पूरा हुन सकेको छैन,’ उनले भने, ‘यदि सरकारले व्यवसायीहरुलाई उत्पादनमा जोड दिनका लागि जग्गा उपलब्ध गराएमा अर्बौं रुपैयाँको कारोबार गरी अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।’ सरकारले तत्कालको लागि मात्रै नभएर दीर्घकालीन योजना बनाएर प्लाइउड क्षेत्रलाई जोड दिनुपर्ने उनले जिकिर गरे ।

व्यवसायीहरुले रुख रोपेपछि कटानको सुविधा पनि दिन माग गरेका छन् । अहिले व्यवसायीहरुले त्यस्ता रुखहरुको वृक्षारोपणमा जोड दिए पनि कटानमा निकै समस्या छ । जसले गर्दा व्यवसायीहरुले लगानी गर्न सकेका छैनन् । ‘व्यवसायीहरुले अहिले देशभर बाँझो रहेका तराई र पहाडका खाली जग्गामा लगानी गर्न तयार छन् । लगानी गरिसके पनि उपभोग गर्न पनि व्यवसायीहरुकै हितमा हुनुपर्छ,’ उनले भने ।

भारत र चीनले प्लाइउड उत्पादनमा जोड दिई ठूलो लगानी गरिरहेका छन् । ती देशहरुले पाँच वर्षमा कटान हुने गरी बिउ विजन प्रयोग गरी वैज्ञानिक ढंगबाट रुख उत्पादन गरिरहेका छन् । सोहीअनुसार नेपालले पनि व्यवसायीहरुलाई साथ दिने हो भने प्लाइउडमा आत्मनिर्भर भई भारतमा मात्रै अन्य देशमा पनि निर्यात गर्ने क्षमता छ ।

नेपालमा अहिले पनि कच्चा पदार्थ प्रयोगमा निकै झन्झटिलो र लामो प्रक्रिया छ । सरकारी प्रकृयाले गर्दा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । हाल देशभर करिब एक सयको हाराहारीमा प्लाइउड उद्योग छन् । ती उद्योगहरुमा न्यूनतम २५ करोड रुपैयाँदेखि ८० करोड रुपैयाँसम्म लगानी गरेका छन् । साथै, एउटा उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजार हाराहारीमा रोजगारी दिएका छन् ।

निर्यात अनुदान पाउन सकेनन्

सरकारले आव २०७९/८० मा अनुदानको व्यवस्था गरेको थियो । व्यवसायीहरु उत्साहित भएर निर्यात गर्न थाले । तर, निर्यात गरेको अनुदान रकम भने हालसम्म व्यवसायीहरुले प्राप्त गर्न नसकेको बताएका छन् ।

व्यवसायीले गत वर्ष निर्यात गरेको प्लार्यउडको सम्पूर्ण विवरण पेस गरेको जनाएका छन् । तर, सरकारले हालसम्म व्यवसायीको अनुदान रकम दिन नसकेको उनको भनाइ छ । विभिन्न चरणको छलफलमा उक्त विषयलाई सम्बोधन गरिँदै आए पनि समस्या समाधान भने हुन सकेको छ । सरकारले आगामी वर्षको बजेटमार्फत् पहिलो चरणमा रकम प्रदान गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार ००:००  ११ : ४२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping