झडपको त्रासले नुवाकोटको ढिकुरे बजार निषेधित क्षेत्र « Eglish Khabarhub

झडपको त्रासले नुवाकोटको ढिकुरे बजार निषेधित क्षेत्र



नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ ।

नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको सूचनामार्फत जनाएको छ ।

आज बिहान ६ बजेदेखि शुरु भएको निषेधित क्षेत्र साँझ ६ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।

चुनावी प्रचारको अन्तिम दिन आज ढिकुरेको मुख्य बजारमा नेपाली काँग्रेस र त्यसको केही मिटर दूरीमा नेकपा (एमाले) र माओवादी केन्द्रले संयुक्तरुपमा शक्ति प्रदर्शकसहित चुनावीसभा आयोजना गर्ने तय गरेका छन् । दुई शक्तिमध्ये एकलाई स्थान परिवर्तन गर्न गरेको आग्रह अस्वीकार गरेकाले बाध्य भएर निषेधित क्षेत्र घोषणा गर्नुपरेको प्रशासकीय अधिकृत शर्माले बताए।

दुवै गठबन्धनबाट केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने चुनावीसभा एकै स्थानमा सञ्चालन हुँदा हिंसा र झडप सिर्जना हुनसक्ने प्रशासनले आशंका गरेको छ । सहमतिका लागि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहितको सुरक्षा निकायका प्रमुखको टोलीले आयोजकसँग गरेको प्रयास असफल भएपछि सम्भावित घटना रोक्न निषेधित क्षेत्र घोषणा गरेको प्रशासनले जनाएको छ ।

प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि अब दुवै पार्टीले शक्ति प्रदर्शनसहितको चुनावीसभा अन्य स्थानमा सार्नुपर्ने भएको छ । आज हुने अन्तिम चुनावीसभामा काँग्रेसको तर्फबाट केन्द्रीय सदस्य एवं चर्चित युवा नेता गगनकुमार थापालगायत र वाम गठबन्धनका तर्फबाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता रामबहादुर थापा आउने कार्यक्रम रहेको छ । रासस

Publish on: