![](https://internal.appharu.com/wp-content/uploads/2024/12/korea.jpg)
एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको कार्यालयमा प्रहरीले छापा मार्न लागेको छ । सैन्य कानुन लागू गर्न असफल भएका राष्ट्रपति युन अत्यधिक आलोचित भइरहँदा प्रहरीले छापा मार्न लागेको हो ।
प्रहरीले सिभिल सर्भिस अफिसमा प्रवेश गरेको जनाएको छ । तर राष्ट्रपति युनको मुख्य कार्यालयमा भने प्रवेश गर्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
तर सुरक्षाकर्मीहरुको कडा सुरक्षामा रहेको राष्ट्रपति कार्यालयमा प्रहरी प्रवेश गर्न नसकिरहेको बताइएको छ । राष्ट्रपति युनले सैन्य कानुन लागू गर्न असफल भएपछि उनीविरुद्ध महाभियोग दर्ता गरिएको थियो । यद्यपि संसद्मा महाभियोग पनि असफल नै भएको छ ।
राष्ट्रपतिविरुद्ध एक साताको प्रदर्शनबीच प्रहरीले उनको कार्यालयमा छपा मार्न लागेको हो । दक्षिण कोरियाली राष्ट्रपति युनले सेनाको सहायतामा रातको समयमा सैन्य कानुन ल्याउन लागेपछि नै त्यहाँ व्यापक रुपमा प्रदर्शन भइरहेको छ । यसैबीच राष्ट्रपति युनको राजीनामा मागिएको छ । रक्षामन्त्री किम योङ ह्युनले भने राजीनमा दिइसकेका छन् । र उनी प्रहरी हिरासतमा छन् ।
महाभियोग सामना गरेका राष्ट्रपतिमाथि विभिन्न तहबाट अनुसन्धान सुरु गरिए पनि उनी राजीनामा नदिएर कार्यालयमै बसिरहेका छन् । यसैबीच सैन्य कानुन घोषणाको जिम्मेवारी लिँदै राजीनामा दिएका रक्षामन्त्री किमले भनेमंगलबार राति हिरासतभित्रै आत्महत्या प्रयास गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किम आइतबार नै पक्राउ परेका थिए ।
यस्तै राष्ट्रपति युनका निकट अधिकारीहरुले पनि उनलाई राजीनामा दिन सल्ला दिइरहेको बुझिएको छ । राष्ट्रपति युनले उत्तर कोरियाको खतराका कारण सैन्य कानुन घोषणा गरेका थिए । जुन घोषणा फिर्ता लिन उनी बाध्य भए । यससँगै दक्षिण कोरियाको राजनीति अस्थिरतातिर धकेलिएको छ ।
SHARE YOUR THOUGHTS