![](https://internal.appharu.com/wp-content/uploads/2024/12/saratsing.jpg)
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमा रोजगारीको वातावरण बनाइने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संरचनाको चरणमा रहेको उल्लेख गरे । मन्त्रालयको संरचना निर्माणका लागि ओएनएमको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको मात्रै काम गरेजस्तो देखिएकाले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको पनि उनको भनाइ थियो । यस क्रममा मन्त्री भण्डारीले सरकारले रोजगार दिने नभइ रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने र रोजगारी निजी क्षेत्रले दिने बताएका थिए ।
मन्त्री भन्डारीले भनेका छन्, ‘विशेषगरी अहिले हामीले रोजगार क्षेत्रमा दुई वटा कुरा गर्न खोजेका छौँ । आन्तरिक रोजगार र वैदेशिक रोजगारको कुरा छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कहिले कहिले नाम नै अर्को गर्ने कि भन्ने पनि कुरा आउँछ । किनभने यो मन्त्रालयले वैदेशिक रोजगारको काम मात्रै गरेको छ । वैदेशिक रोजगार मन्त्रालय मात्रै बनाउने हो कि भन्ने कुरा पनि कहिले कहिले आउँछ । मन्त्रालयको संरचना हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारमा कहीँ केही छैन । कसले हेर्ने ?’
आफूहरु हाल मन्त्रालयको संरचनाको चरणमा रहेको भन्दै भण्डारीले ओएनएमको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए । जहाँ आफूहरुले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना ग्न लागेको पनि उनले बताए ।
‘यसले मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवर्द्धन गर्ने, अघि बढाउने हो । सरकारले रोजगारी दिने होइन । सरकारले बाटो बनाइदिने हो । रोजगार दिने भनेको रोजगारदाताले हो, निजी क्षेत्रले हो,’ उनले भने । मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट सीप सिकेर आएका व्यक्तिहरु नेपालका लागि उपयुक्त जनशक्ति भएको पनि बताएका थिए ।
SHARE YOUR THOUGHTS