![](https://internal.appharu.com/wp-content/uploads/2024/12/nepalindiaarmy.jpg)
काठमाडौं । सैन्य तालिमको क्रममा क्षमता बढाउन तथा औषधिसहितका उपचार सामग्री वितरणमा सहायता गर्न भारतीय सेनाले नेपाली सेनालाई ड्रोन उपहार दिएको छ ।
यसै साता भारतको राजधानी नयाँदिल्ली पुगेका नेपाली सेनाका प्रमुख अशोक राज सिग्देललाई भारतीय समकक्षी जनरल उपेन्द्र विदेवीले उक्त ड्रोन उपहार दिएका हुन् ।
उक्त सहायताले नेपालमा आपतकालीन अवस्थामा परिचालन तयारीको लागि देशको क्षेत्रीय अस्पताल प्रणालीलाई बढावा दिन सहायता हुने अपेक्षा गरिएको छ । आधुनिकीकरणमा नेपालको प्रयास र रक्षा क्षेत्रमा क्षमता विकासका लागि सहयोग गर्दैआएको भारतले यसपटक सैन्य क्षमता विकासका लागि सहयोग गरेको जनाएको छ ।
चार दिने भारत भ्रमणमा रहेका नेपाली सेना प्रमुख सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्राप्त गरेका छन् ।
यस क्रममा सिग्देल र भारतीय समकक्षी जनरल उपेन्द्र दिवेदीबीच वार्ता भएको थियो । क्षेत्रीय सुरक्षा चासो तथा संयुक्त सहकार्यका क्षेत्रमा मिलेर काम गर्ने विषयमा उनीहरुको छलफल केन्द्रित रहेको बताइएको छ ।
भ्रमणको क्रममा सेनापति सिग्देलले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभल, रक्षा सचिव राजेश कुमार सिंह र विदेश सचिव विक्रम मिस्रीसहित दिल्लीस्थित उच्च अधिकारीहरुसँग भेट गरेका छन् ।
यससँगै बिहीबार भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहसँग पनि सिग्देलले भेट गरेका थिए । बिहीबार नै उनले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति मुर्मूबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न पाएका हुन् ।
दुई छिमेकी तथा मित्र राष्ट्र नेपाल र भारतका सेनाप्रमुखहरुले आफ्नो कार्यकालको सुरुमा आपसी देशमा गएर मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने परम्परा छ । यसअघि भारतीय सेना प्रमुखले पनि नेपालमा आएर राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरिसकेका छन् ।
SHARE YOUR THOUGHTS