हाम्रो पहिचान जोगिन्छ कि जोगिँदैन: खोकनावासी « Eglish Khabarhub

हाम्रो पहिचान जोगिन्छ कि जोगिँदैन: खोकनावासी




ललितपुर । २०७२ सालको भत्काएको घरअगाडि ज्ञानदास डंगोल बिहानको घाम ताप्न निस्किएका मात्रै थिए। ठूलो–ठूलो स्वरमा नारा लगाउँदै एउटा समूह आइपुग्यो ।

८३ वसन्त पार गरेका डंगोल, होइन के को जुलुस रहेछ भनेर हेर्दै थिए । टोलका युवादेखि वृद्ध जुलुसमा सहभागी थिए । खोकनाको पुरानो टोल न्हगुमा उनको भत्किएको घर अझै ठडिएको छैन । तर पछिल्लो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले अन्यत्र जस्तै उनको टोललाई समेत राम्रै गरी छोएको छ ।

पछिल्ला दिनमा मत माग्दै आउने उम्मेदवार, नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ । पञ्चायतकालदेखि मतदान गरेको अनुभव सुनाउँदै उनले भने, ‘मलाई त असाध्यै रमाइलो पो लाग्छ त निर्वाचन आएपछि ।’

महर्जनले त्यसो भनिरहँदा नारा लगाउँदै आएको समूह उनकै अगाडि आइपुग्यो र एउटा पर्चा थमायो । ‘लौ मैले त राम्ररी पढ्न जान्दिन, के लेखेको छ, यसमा । नातिलाई पढ्न लगाउनुपर्ला नि हुन्न ?’, पर्चा दिनेलाई प्रश्न गर्नुभयो । ‘हुन्छ बा हुन्छ’ पर्चा दिनेले उत्तर दियो ।

स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयपछि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सक्रिय सहभागी हुने बताउँदै डंगोलले भने, ‘मेरो घरमा १३ मत छ, म त सबैलाई सहभागी गराउँछु । तर भत्किएको घर कहिले बन्ला भन्ने मात्रै मेरो चासो छ ।’

ललितपुर महानगरपालिका–२१ खोकनाका बेखा महर्जनलाई जनताले नै प्रतिनिधि चुन्न पाउने निर्वाचन महत्वपूर्ण लाग्छ । तर खोकनाको परम्परागत बस्ती भत्किएको लामो समय भइसक्दासमेत पुनः निर्माण नभएकामा भने उनलाई दुःख लागेको छ ।

उनलाई आफ्नो परम्परागत नेवारी बस्तीको पहिचान रहिरहोस्, तोरीको तेल भन्ने बित्तिकै नाम आउने खोकनाको परिचय बाँचिरहोस् भन्ने इच्छा छ । निर्वाचनमा मत माग्न आउने सबै राजनीतिक दलका उम्मेदवारलाई आफूले सोही माग राखेको बताउँदै उनले भने, ‘हाम्रो मौलिक पहिचान जोगिन्छ कि जोगिँदैन भन्ने चिन्ता छ । युवा पुस्ताले सबै भुल्न लागे । सरकार र जनप्रतिनिधिले चासो दिनुुपर्यो नि होइन ?”

खोकनाकै चम्पावती डंगोलको ठूलो अपेक्षा छैन । स्थानीय न्हगु टोलमा भेटिनुभएकी उनले भनिन्, “खोकना भनेर टाढा–टाढाबाट मान्छे हेर्न आउँछन् । खोकनालाई खोकनाकै रुपमा रहन दिए हुन्थ्यो ।’

‘तेलको नाम त हाम्रै खोकनाले दिएको हो नि । बाटोघाटो सफासुग्घर हुनुपर्यो, पिउनेपानीको समस्या छ, नेताहरुले त्यसैमा काम गरिदिए हुन्थ्यो बूढेसकालमा मेरो अरू कुनै माग छैन”, उनले भनिन्।

स्थानीयवासी देवरत्न डंगोल खोकनावासीको प्रमुख माग पुनः निर्माण रहेको बताउँछन् । सरकारले पुनः निर्माणका लागि भनेर दिएको ३ लाखले घर बनाउन सक्ने अवस्था छैन । भूकम्पले भत्काएको घर बनाउन नसक्नेहरु अहिले पनि खेतका टहरामा नै बसेका छन् । डंगोलले भने, ‘सांस्कृतिक रुपमा नै खोकनालाई परिचय दिने गरी घर बनाउन सरकारले सहयोग गर्नुपर्छ ।’

मत माग्न पुगेका अधिकांश उम्मेदवारलाई स्थानीयवासीले खोकनालाई सांस्कृतिक परिचय दिन मात्रै होइन, पुनः निर्माणलाई प्राथमिकता दिन माग गरेका छन् ।

थानकोट–चापागाँउ– भक्तपुर प्रसारण लाइनको एउटा खण्डसमेत सोही क्षेत्रमा पर्छ । काठमाडौँलाई तराई मधेश जोड्ने द्रुत मार्गको केही खण्डसमेत सोही क्षेत्रमा पर्ने भएकाले उचित मुआब्जा र क्षतिपूर्तिको माग गरेका छन् ।

सिफाली बहुद्देश्यीय सहकारीले तेल मिल सञ्चालन गरेको छ । शुद्ध भुटेको तोरीको तेल उत्पादन हुन्छ, त्यो पनि पुरानै उपकरण र पद्धतिबाट । तोरीको तेलले प्रतिष्ठित बनेको ललितपुरस्थित खोकनामा यस्ता तोरीका मिल थुप्रै छन् । तोरीखेतीका लागि किसानलाई सीप र प्रविधिले युक्त बनाउनुपर्ने माग स्थानीयवासीको छ ।

पछिल्लो समय खोकनामा खेतीयोग्य जमिन घट्दै गएको छ । अव्यवस्थित शहरीकरणले तोरी फल्ने फाँट मासिएकामा बुद्ध डंगोललाई पीर परेको छ । ‘राजनीतिक नेतृत्वले यस विषयमा ध्यान दिए राम्रो हुन्थ्यो । भोट माग्न आउनेलाई मैले त तेलकै कुरा गरेको छु’, उनले भने ।

पहिले जस्तै आकर्षण छ÷छैन, खोकनाको तेलमा तर स्थानीयवासीले आफ्नै पहिचान लामो समयसम्म रहोस् र भावी सन्ततिले देख्न पाऊन् भन्ने अपेक्षा राखेका छन् । भूकम्पले भत्काएको रुद्रायणी देवीको मन्दिर राम्ररी बनेको छैन । त्यहाँको जात्राको पनि आफ्नै महत्व छ । दशैँमा जात्रा लाग्छ । मन्दिरको शिरमा स्वयम्भू भगवान्को मूर्ति छ । स्थानीय बासिन्दाले काटमार नगर्ने, नाचगान नगर्ने, घण्टा नबजाउने र रेडियोसमेत नबजाउने भएकाले गाउँमा पूरै शान्ति छाउने स्थानीयवासीको भनाइ छ ।

मन्दिर पुनः निर्माण समेत स्थानीयवासीको माग छ । स्थानीयवासी कृष्णभक्त डंगोल भन्छन्, ‘अरू काम त हामी आफैँ गरिहाल्छौ, तर हाम्रो कला, सस्कृंति र पहिचानको संरक्षणमा राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ ।’

खोकनामा मत माग्न पुगेकी वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल खोकनाको पहिचान जोगाउन र स्थानीयवासीको माग सम्बोधन गर्न आफू तयार रहेको बताउँछिन् ।

‘खोकनाको तेल, यहाँको संस्कृतिको संरक्षण एवं पुनः निर्माण नै हाम्रो गठबन्धनको प्रमुख कार्यसूची हो । हामीले घोषणापत्रमा नै ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने सङ्कल्प गरेका छौँ”, उनले भनिन् ।

एमाले नेत्री सुशीला नेपाल ललितपुरको मात्रै नभई नेपालकै पुरानो बस्तीका रुपमा रहेको खोकना, बुङमती जस्ता स्थानलाई सास्ंकृतिक क्षेत्रका रुपमा लिँदै त्यसको प्रचार प्रसार गर्ने र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको बताउँछन् ।

क्षेत्र नं ३ मा काँग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका मदन अमात्य ललितपुरको विशिष्टता र महत्व आफूलाई बढी थाहा भएको बताउँछन् । उनले क्षेत्र नं ३ लाई समृद्ध बनाउने र विकास निर्माणमा केन्द्रित गर्ने योजना आफूसँग भएको बताउनुभयो । सो क्षेत्रमा काँग्रेसले प्रदेश ‘क’ मा नवराज महत र ‘ख’मा शिवराम बानियाँलाई उम्मेदवार बनाएको छ ।

वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ भुसाल तथा प्रदेश ‘क’ मा राजकाजी महर्जन र ‘ख’ मा जीवन खड्कालाई उम्मेदवार बनाएको छ । सो निर्वाचन क्षेत्रमा कूल ८६ हजार ४३९ मतदाता रहेका छन् । सो निर्वाचन क्षेत्रमा संघीय समाजवादी फोरम, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल र स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्रमा १०२ मतदान केन्द्र र ललितपुर महानगरका २२ वडा पर्छ ।

चुनावलाई आफ्नो पक्षमा पार्न उम्मेदवारले घरदैलो, कोणसभा, भेटघाट तथा प्रचार प्रसारलाई तीव्र पारेका छन् । सबैको एउटै नारा र एउटै भाषा छ, ललितपुरको सांस्कतिक पहिचानको संरक्षण हाम्रो पार्टी र हाम्रो गठबन्धनले मात्रै गर्दछ ।

प्रदेश ‘क’ का वाम गठन्धनका उम्मेदवार महर्जन आफ्नो गठबन्धनले विजय हासिल गर्ने दाबी गरिरहँदा काँग्रेस उम्मेदवार महतलाई पनि आफ्नो एजेण्डा र लोकतन्त्रप्रतिको काँग्रेसको प्रतिबद्धताले इतिहास कायमै नै रहन्छ भन्ने लागेको छ ।

यस्तै प्रदेश ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार खड्का र काँग्रेस उम्मेदवार बानियाँ आफ्नो जित सुनिश्चित रहेको बताउँछन् । तर खोकना, बुङमती, ठेचो लगायतका मतदाता भने उम्मेदवारसँग पुनः निर्माण र सास्ंकृतिक पहिचान कसरी जोगाउन सकिन्छ र उम्मेदवारको प्रतिबद्धता के रहन्छ भन्ने प्रस्ट जवाफ खोजिरहेका छन् । रासस

Publish on: