काठमाडौं । घरजग्गा र सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै बैंक तथा वित्तीय संस्थाहरुबाट यो क्षेत्रमा जाने कर्जामा कडाइ गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले अलिकति कमाइ हुने वित्तिकै घर जग्गा जोड्ने गरेका देखिएको छ ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको सम्पत्ति विवरणले यस्तो देखाएको हो ।
उनीले नेपाल राष्ट्र बैंकको गभर्नर भएका बेलामा बैंक तथा वित्तीय संस्थाहरुमा जाने कर्जाको सीमा तोक्ने पूर्ववर्ती गभर्नर विजयनाथ भट्टराईको नीति कडाइका साथ कार्यान्वयन गरेका थिए । यस्तै सेयर धितो कर्जामा पनि उनले कडाइ गरेका थिए ।
अर्थमन्त्रीमा नियुक्त भएपछि बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा पनि नेपालको आर्थिक विकास र समृद्धिको लागि विदेशबाट पुँजी ल्याउने पर्ने र यस्तो पुँजी घर जग्गा तथा सेयर जस्तो अनुत्पादक क्षेत्रमा लगानी हुन नहुने बताएका थिए ।
तर, उनले आफ्नो कमाइको अधिकांश हिस्सा घरजग्गा जोड्नमै खर्चने गरेको उनले पेश गरेको विवरणले देखाएको छ ।
उनीसँग काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा ५ आना क्षेत्रफलमा बनेको घर छ । यो घरजग्गा उनले नेपाल राष्ट्र बैंकबाट सापटी लिएर जोडेका हुन् । उनी नेपाल राष्ट्र बैंकको अबकाश प्राप्त कर्मचारी हुन् । राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई घरजग्गा किन्न सापटी दिने गर्छ ।
यस्तै उनकी श्रीमती कला खतिवडाको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ४ मै १४ आना जग्गाको क्षेत्रफलमा बनेको घर छ । यो घरजग्गा संयुक्त राष्ट्र संघमा जागिर खादा कमाएको पैसाले किनेको डा. खतिवडाले खुलाएका छन् । उनले केही समय संयुक्त राष्ट्र संघमा पनि जागिर खाएका थिए ।
उनीसँग भक्तपूरको चागुनारायणमा १२ आना जग्गा छ । यो जग्गा उनले राष्ट्र संघको जागिरबाट आएको पैसाले ४५ लाख रुपैयाँमा किनेको खुलाएका छन् ।
उनकी श्रीमती कमला खतिवडाको नाममा चागुनारायणमै १२ आना जग्गा छ । यो जग्गा पनि उनले राष्ट्र संघको जागिरबाट आएको पैसाले ४५ लाख रुपैयाँमै किनेको खुलाएका छन् ।
उनकी श्रीमती कमला खतिवडाको नाममा झापाको गौरादहमा ४ विगाहा ८ कठ्ठा जमिन २६ लाख रुपैयाँमा किनेको, कमलाकै नाममा दोलखाको जिरीमा ४ लाख रुपैयाँको जग्गा किनेको खुलाएका छन् । यो जग्गा उनले जग्गा विक्री र निजी बचतबाट किनेको बताएका छन् ।
डा. खतिवडासँग झापाको वुद्धशान्तिमा १० कठ्ठा जमिन छ । यो जमिन उनले आफ्नो निजी बचतबाट ५ लाख रुपैयाँमा किनेको बताएका छन् ।
काठमाडौंको कागेश्वरीमा उनको नाममा ४ रोपनी १ आना २ पैसा जग्गा छ । यो जग्गा उनले विभिन्न संघ संस्थामा कन्सल्टेन्सी गरेवापत प्राप्त रकमबाट २४ लाख रुपैयाँमा किनेको खुलाएका छन् ।
SHARE YOUR THOUGHTS