प्रदेशको नाम र राजधानीको चर्चा: २ नम्बरमा आयोग गठन, ३ नम्बरको तिहारपछि टुङ्गो लाग्ने « Eglish Khabarhub

प्रदेशको नाम र राजधानीको चर्चा: २ नम्बरमा आयोग गठन, ३ नम्बरको तिहारपछि टुङ्गो लाग्ने



काठमाण्डौ । प्रदेश नम्बर २ र ३ को नामाङ्कन र राजधानी तोक्ने विषय पछिल्लो समय फेरि उठेको छ ।

प्रदेश २ सरकारले यसका लागि आयोग गठन गरेको छ भने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले तिहार पछि यो विषय टुङ्गो लाग्ने अभिव्यक्ति दिएका छन् ।

प्रदेश २ सरकारले राजधानी र नामाङ्कनको विषयमा सुझाव सङ्कलन गर्न आयोग गठन गरेको छ ।

प्रदेश नं २ मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार समितिको सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन् । सो आयोगलाई ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मा दिइएको छ ।

स्थायी राजधानीको विषयमा दलहरुबीच खासै विवाद नदेखिए पनि नामाङ्कनका विषयमा मतभिन्ता देखिएको छ । सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालले प्रदेशको नाममा ‘मधेश’ तथा विपक्षी दलहरु नेकपा र काङ्ग्रेसलगायत सांसदले मिथिला, ‘मिथिला भोजपुरा’ हुनुपर्ने धारणा राख्दै आएका छन् ।

आयोगले प्रदेशको राजधानी र नामाङ्कनको विषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, सङ्घसंस्था तथा बढीभन्दा बढी व्यक्तिसँग सल्लाह र सुझाव सङ्कलन गर्नेछ ।

तिहारपछि टुङ्गो लाग्छ

यता, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महिनाभित्र राजधानीको टुङ्गो लाग्ने बताएका छन् ।

चितवनमा पत्रकारसँगको कुराकानीका क्रममा उनले भने, “तिहारपछि बस्ने संसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ ।”

मुख्यमन्त्री पौडेलले राजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको, तर हतार नगरेको उल्लेख गरे । हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दै उनले ढिलो नभएको दावी गरे ।

प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने भन्दै उनले भने, “नामका विषयमा केही प्रस्ताव भएको छैन ।”

Publish on: