अमेरिकाको निर्वाचनमा ३ नेपाली उम्मेदवार « Eglish Khabarhub

अमेरिकाको निर्वाचनमा ३ नेपाली उम्मेदवार



वासिङ्टन । अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् ।

उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ ।

सो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ ।

सोही निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक ८ बाट नेपाली मूलका भण्डारीले हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएको छ । भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए । यसरी प्राइमेरी निर्वाचनमा विजयी भएर एक तहको निर्वाचन पार गर्ने भण्डारी पहिलो व्यक्ति हुन् ।

सो डिस्ट्रिकबाट तीन जना उम्मेदवार हाउस अफ डेलिगेट्समा निर्वाचित हुन्छन् । डेमोक्र्याट पार्टीको राम्रो पकड भएको उक्त स्थानमा मतदाता निकै जागरुक भएकाले यसलाई स्विङ डिष्ट्रिक अर्थात् जुनकुनैमा पनि मत जान सक्ने डिष्ट्रिकका रुपमा लिइन्छ ।

आइतबार ‘अर्लि भोटिङ’ को मतदानस्थलमा दिनभरि मतदातासँग मत माग्न व्यस्त रहनुभएका भण्डारीले भने– ‘हामीहरुको अवस्था राम्रै रहेको छ, मतदाताले कसरी हाम्रो उपस्थितिलाई स्वीकार गर्छन् भन्ने नोभेम्बर ६ तारिखपछि भन्न सकिन्छ । हाम्रो डिस्ट्रिकमा ८० हजार मतदाता रहेका छन्, सबैखाले प्रचारप्रसारमा पनि राम्रै गरेका छौँ ।’

न्यू हयाम्प्सायरबाट डेमोक्र्याटीक पार्टीका तर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेदवारी दिएकी गुरुङको क्षेत्रमा डेमोक्र्याटको झिनो उपस्थिति रहेको मानिन्छ । उता ढकालको उम्मेदवारी कुनै दलगत नभई केवल स्थानीयस्तरको एकाइको पद हो । उनले उम्मेदवारी दिएको पद ६ का लागि १० जनाको उम्मेदवारी परेको छ भने पाँच जना यस अगाडि निर्वाचित भइसकेका काउन्सिल सदस्य हुन् । यसरी हेर्दा आगामी नोभेम्बर ६ मा खास प्रतिस्पर्धामा भण्डारी मात्र छन् ।

मेरिल्याण्डमा काम गर्नुहुने तरुण पौडेलले पनि भण्डारीको पकड र आधार मजबुद भएको बताए । करीब २०० नेपालीको घर यही डिस्ट्रिकमा भएकाले पनि उनलाई यार्ड साइनमा र मतदानमा सहयोग पुग्ने बताइएको छ । नेपाली तथा भूटानी मूलका करीब ३०० को हाराहारीको मत रहेको आँकलन पौडेल गर्छन् ।

अमेरिकामा हुने सो निर्वाचनले नेपाली उम्मेदवारको उपस्थिति अनुमोदन हुन्छ कि हुँदैन भन्ने भण्डारीको जीतहारले सुनिश्चित गर्नेछ । रासस

Publish on: