काठमाडौं । दुइवटा वाडइबडी जहाज खरिदमा नेपाल वायुसेवा निगमका तत्कालिन महाप्रवन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गर्यो ।
विहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक कंसाकार, सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको थियो । विमान खरिदमा अदालतले १ अर्ब ४७ करोड रुपैयाँको भ्रष्टाचार ठहर गर्दै, दामासाहीलाई उक्त रकम असुल्न आदेश दिएको छ।
निगमका तत्कालीन महाप्रवन्धक कंसाकारले विशेषको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनले विशेष अदालतले आफूलाई भ्रष्टाचारी ठहर गरेको विषय चित्त नबुझेको र पारदर्शी हिसावले जहाज खरिद गर्दागर्दै पनि दोषी देखाएको भन्दै असन्तुष्टी व्यक्त गरे । कंसाकारलाई कसुर गरेबापत २ वर्ष ६ महिना कैद सजाय हुने फैसलामा उल्लेख छ।
क्लिकमान्डुसँगको कुराकानीमा कंसाकारले भने, ‘विशेषले जहाजको उडान भर्दाको अधिकतम भारबाहन क्षमता (एमटीओडब्लू) २ सय ४२ टन हुनुपर्नेमा २ सय ३० टन मात्रै क्षमता बनाउनु र प्राइस स्कालेसनमा भ्रष्टाचार भएको भनेको छ । यो दुबै विषयमा हामीले प्रमाणसहित पेश गरेका छौं । हामीले पेश गरेको प्रमाणलाई वास्तै गरिएन ।’
कंसाकारले विशेषको फैसला चित्त नबुझेकाले आफू सर्वोच्च अदालत जाने प्रतिक्रिया दिए ।
त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका ३२ जनामध्ये ४ जनालाई मात्रै दोषी देखाएको विषयमा अख्तियार आफैं सर्वोच्च जान पाउने बाटो खुला छ ।
यसअघि वायुसेवा निगमको न्यारोवडी जहाज खरिद गर्दा पनि बैना रकम पठाएकै आधारमा विशेषले भ्रष्टाचार भएको ठहर गरेको थियो । त्यतिबेला पनि सर्वोच्चबाट सफाई पाएको स्मरण गर्दै कंसाकारले भने, ‘न्यायका लागि सर्वोच्च अदालत जानै पर्छ । अरु विकल्प छैन ।’
‘ग्लोबल टेण्डर गरेर ६ वटा मुलुकको १० वटा कम्पनीले भाग लिएको खरिद प्रक्रियामा त भ्रष्टाचार भयो भन्छन् भने अब निगमको लागि कसले जहाज किन्ने आँट गर्छ ?’ उनले भने ।
विशेष अदालतले कंसाकारसहित पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारी, पूर्वसचिव शिशिर ढुंगाना र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गर्दै अरु प्रतिवादी सबैलाई सफाइ दिएको छ ।
प्रतिक्रिया