अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी « Eglish Khabarhub

अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी



काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआउनुभएका थापाले बिरुवा बिक्रीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आएका छन् । ‘सुरुवाती चरणमा बिरुवा उत्पादन गर्न निकै मिहेनत गर्नुपर्छ,’ उनले भने, ‘आम्दानी यथेष्ट आम्दानी हुन थालेपछि काम गर्न जाँगर चल्छ ।’

उनले सुरुवातमा रु एक लाखको लगानीमा दुई रोपनी जग्गामा अलैँचीको बिरुवा उत्पादन कार्य गरेका थिए । हाल उनले आठ रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । थापाले कृषिसम्बन्धी विभिन्न तालिम समेत लिएका छन । तालिम लिएपछि उनी बिरुवा उत्पादन गर्न थालेका हुन्।

‘बिरुवा बिक्री गर्न बजारसम्म धाउनु पर्दैन,’ उनले भने । सर्वसाधारण बिरुवा लिन घरसम्मै आइपुग्छन् । थापाले घरपरिवारको सहयोगबाट नै कामलाई निरन्तरता दिँदै आएका छन् । काउली, मुला लगाउने जग्गामा अलैँचीको बिरुवा रोप्ने गरेको उनी बताउँछन् । केही वर्ष पहिले वैदेशिक रोजगारीका लागि कोरिया जान खोजेका थापा एक्कासी बिरुवा उत्पादनमा लागेका हुन् ।

‘आफ्नै देशमा नै गर्न चाहे के हुँदैन, विदेशमा भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ,’ उनले भने । अलैँचीको बिरुवा उत्पादनबाटै उनले आठजनाको परिवार धान्दै आएका छन् । आफूले अलैँचीको बिरुवा उत्पादनको काम गर्न थालेपछि गाउँका अन्यलाई प्रशिक्षण दिएर सामूहिक बीउ उत्पादनमा जोड दिँदै आएका छन् ।

अलैँचीको एउटा बिरुवाको मूल्य रु १० सम्म पर्छ । एउटा झाङ बिरुवालाई रु २०० सम्म पर्छ । एक किलो अलैँचीको गेडाबाट रु दुई लाखसम्मको बिरुवा उत्पादन हुने थापाको भनाइ छ । हाल थापाले उत्पादन गर्नुभएको बिरुवा काभ्रेपलोञ्चोक, सिन्धुपाल्चोक, कास्की, मकवानपुरलगायत देशका अन्य जिल्लामा समेत बिक्री वितरण हुने गरेको छ । उनले रामसाही, गोल्साही, चिवेसाही, डमरसाहीलगायत सात प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । थापाले हाल खाद्यान्न तथा बीउ आलु, फलफूल, अलैँची नर्सरी उद्योग सञ्चालन गरेका छन् । रासस

Publish on: