काठमाडौं । उप तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बीमा संस्थानलाई संस्थाको संगठनात्मक संरचनालाई संघीय संरचनाको ढाँचामा लैजान सुझाव दिएका छन् ।
बीमा संस्थान ५० औं वर्ष प्रवेशको अवसरमा संस्थान कार्यालय परिसरमा निर्माण गरिएको स्वर्ण जयन्तीस्मारक स्तम्भको आइतबार अनावरण गर्दै उनले सो सुझाव दिएका हुन् ।
सरकारी स्वामित्वमा सञ्चिालित बीमा संस्थानले आफ्नो सेवालाई ग्रामीण क्षेत्रका लाने, विदेश जाने नेपालीहरूलाई समेत सेवा प्रदान गर्नुका साथै संकलित बचतलाई संगठित संस्थाहरूमार्फत मुलुकको आर्थिक विकासमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।
संस्थानको व्यवसाय निजी क्षेत्रको तुलनामा अगाडि आउनुपर्ने भन्दै उनले वक्यौता लेखा परिक्षण यथाशक्य छिटो गर्न आग्रह गरे । संस्थानको पूँजी योजनालाई बीमा समितिसँग नीतिगत सल्लाह गरेर अगाडि बढाउन उनले आग्रह गरे ।
राष्ट्रिय बीमा संस्थान ५० औं वर्षमा प्रवेश गरेको अवसरमा स्वर्ण जयन्ती स्मारक स्तम्भ निर्माण गरिएको हो ।
संस्थान सञ्चालक समितिका अध्यक्ष डा. खेमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रूपमा आफ्नो स्थान बनाउन सफल भएको बताए । अझै पनि ठूलो संख्यामा नेपाली जनता बीमाको पहुँचभन्दा बाहिर रहेको भन्दै दक्ष जनशक्ति र नयाँ सूचना प्रविधिमार्फत देशका कुनाकुनामा बीमा सेवालाई विस्तार गरी देश र जनताको सेवामा समर्पित तथा उत्तरदायी हुन संस्थान कटिबद्घ रहेको उनले बताए ।
संस्थानका प्रशासक अश्विनीकुमार ठाकुरले उदार एवं खुला प्रतिष्पर्धात्मक अर्थ नीतिको भावना अनुकुल समयसापेक्ष कडा प्रतिष्पर्धात्मक बीमा बजारको चुनौतिहरूको सामना गर्दै प्रतिष्पर्धाको लहरमा आफुलाई उभ्याइसकेको भन्दै यसका लागि संस्थानले आफ्नो व्यवसायिकता, व्यवस्थापन र आर्थिक पक्षलाई भावी कार्यक्रम तथा लक्ष्य निर्धारण गरी क्रमिक रूपमा सुुधार गर्दै अगाडि बढेको उनले बताए ।
संस्थानले जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमांकीय मूल्यांकनलाई नियमित गर्ने जनाउँदै सन् २००७ देखिको बीमांकीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ । बीमाङ्कनबाट बीमा व्यवसाय (जीवन, निर्जीवन र पुनःबीमा) मा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बीमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ ।
संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पूँजी कोषबाट निर्दिष्ट क्षेत्रमा १५ अर्ब लगानी गरेको जनाएको छ ।

SHARE YOUR THOUGHTS