मेलम्ची आयोजनाका मजदुरले छ महिनादेखि तलब पाएनन् « Eglish Khabarhub

मेलम्ची आयोजनाका मजदुरले छ महिनादेखि तलब पाएनन्



फाइल

सिन्धुपाल्चोक। मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले काम लगाएका ‘सब कन्ट्र्याक्टर’ले मजदुरलाई छ महिनादेखि तलब दिएका छैनन् ।

सिएमसीले ग्याल्थुमदेखि मेलम्ची खोलाको मुहान अम्बाथानसम्म सडकको काम गर्ने जिम्मा स्थानीय बुद्धिकृष्ण लामिछानेलाई दिएको थियो । लामिछानेले १३ जना कामदार लगाएर काम गरेकोमा छ महिनादेखिको पारिश्रमिक उनीहरुले नपाएको गुनासो गरेका छन् ।

ठेकेदार कम्पनीले निश्चित काम गर्न तोकिएकाले मजदुरलाई पारिश्रमिक नदिँदा अन्तिम चरणमा पुगेको आयोजनाकै काम अवरुद्ध हुन सक्ने चिन्ता बढेको सडकमा काम गर्न खटिएका हेलम्बु गाउँपालिका–२, क्यूलका चिरञ्जीवी भण्डारीले बताए ।

‘हामीलाई काम लगाएकाले छ महिनादेखि तलब दिएनन्, यसले गर्दा काम गर्ने कि नगर्ने भन्ने द्विधामा छौँ, यसअघि पनि पारिश्रमिक नपाउँदा बाटो छेकेर लिएका थियौँ, काम गरेको पारिश्रमिक पाउन पनि पटक पटक धाउनुपर्ने बाध्यता छ,’ आफूले भोग्नुपरेको पीडा सुनाउँदै उनले भने ।

लामिछानेले सिएमसीको सब कन्ट्र्याक्टरका रुपमा ग्याल्थुममोडदेखि अम्बाथानसम्मको सडक मर्मत–सम्भारको जिम्मेवारी पाएका छन् ।

लामिछानेले यसअघि पनि तीन/तीन महिनाको अन्तरमा पारिश्रमिक दिने गरेको स्वीकारे ।

ठेकेदार कम्पनी सिएमसीका जनशक्ति विभाग प्रमुख देवी अधिकारीले मेलम्ची खानेपानी विकास समितिले पैसा नदिएकाले सब कन्ट्र्याक्टरलाई पैसा दिन नसकेको बताए । अम्बाथान, ग्याल्थुम, सिन्धु लगायतका सब कन्ट्र्याक्टरलाई विगतदेखि नै समयमै पैसा दिन नसकिएको उनले जानकारी दिए।

कम्पनीका लेखा प्रमुख कैलाश श्रेष्ठले भने कुनै पनि सब कन्ट्र्याक्टरलाई पैसा दिन बाँकी नरहेको दाबी गरे ।

यता ग्याल्थुम र सिन्धुमा काम गरिरहेका मजदुरले पनि ‘सब कन्ट्र्याक्टर’ले महिना सकिने बित्तिकै तलब नपाएको गुनासो गरेका छन् ।

मेलम्ची आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्त भने नियमबमोजिम नै ठेकेदार कम्पनी सिएमसीलाई भुक्तानी दिइएको बताउँछन् ।

‘ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले बिल भर्पाइसहित पैसा माग गरेको ५६ दिनभित्र भुक्तानी गर्नुपर्ने नियम छ, ५६ दिनसम्म पनि भुक्तानी नदिए बिल बापतको रकममा समितिले ब्याज तिर्नुपर्छ, अहिलेसम्म ५६ दिन कटाएर समितिले ब्याज तिरेको छैन,’ उनले भने ।

नयाँ वर्षमा पानी खसाल्ने प्रतिबद्धता

मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको आठ दशमलव दुई किमी सुरुङ आज छिचोलिएको घोषणा गर्न शनिबार अम्बाथानमा आयोजित कार्यक्रममा खानेपानी तथा सरससफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दी, सचिव गजेन्द्रकुमार ठाकुर र आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले विसं २०७५ को वैशाखमै मेलम्चीको पानी राजधानी पु¥याइने प्रतिबद्धता जनाए ।

राज्यमन्त्री गद्दीले मेलम्चीको पानी राजधानीमा खसालेर सन्त नेता कृष्णप्रसाद भट्टराईको सपनालाई विपनामा परिणत गर्न सरकार प्रतिबद्ध रहेको सुनाए ।

यसअघि गत वर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको नौ किमी सुरुङ छिचोलिएको थियो । ग्याल्थुम–सिन्धुखण्डको करिब १० किमी सुरुङमध्ये अब ४४३ मिटर मात्र खन्न बाँकी छ । सुरुङ खन्न बाँकी ग्याल्थुम अम्बाथानमा कमजोर चट्टान भेटिएकाले काममा ढिलाइ भइरहेको आयोजनाले जनाएको छ । यो खण्डमा हाल दैनिक नौदेखि १० मिटर सुरुङ निर्माण भइरहेको छ ।

सुरुङ निर्माण भइसकेको स्थानमा भुइँ ढलानको काम शुरु गरिएको छ । दुई महिनामा सबै सुरुङ निर्माण सम्पन्न भइसक्ने सचिव ठाकुरको भनाइ छ ।

‘एशियामै मेलम्चीजस्तो आयोजना छैन, यो अप्ठ्यारो योजनामा सहयोग गरेर एशियाली विकास बैंकले गुण लगाएको छ,’ उनले भने ।

सुरुङ सम्पन्न भएपछि यहाँबाट दैनिक १७ करोड लिटर पानी राजधानी लगिनेछ । सरकारले मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी पनि उपत्यकामा लैजाने योजनाअनुसार सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । यी दुई खोलाको पानी राजधानी लैजान थप १० किमी सुरुङ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । याङ्री र लार्केबाट पनि दैनिक १७/१७ करोड लिटर पानी लैजाने सरकारको योजना छ ।

दोस्रो चरणमा दुई खोलाको पानी राजधानी लैजान एशियाली विकास बैंकसँग सम्झौताको तयारी भएको कार्यकारी निर्देशक देवकोटाले बताए ।

सुन्दरीजलमा नेपालकै ठूलो, प्रविधियुक्त र अत्याधुनिक पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ ।

पहिलो चरणमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । दोस्रो चरणको आठ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माण भइरहेको उनले बताए ।

Publish on: