काठमाडौँ । पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेजले प्रभाकारी काम नगरेपछि स्वदेशी लगानीमा नै आयोजना बनाउन दबाव बढ्दै गएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)को सहकार्यमा सुदूरुपश्चिम सरोकार मञ्चले छलफल कार्यक्रम आयोजना गरेको सात दिन पनि नपुग्दै मञ्चले पुनः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्ले लगायतलाई भेटेर तत्काल स्वदेशी लगानीमा नै निर्माण गर्न आग्रह गरेका हुन् ।
सो आयोजनाको प्रवद्र्धक चिनियाँ कम्पनीको सम्पूर्ण माग र चासोलाई सरकारले सम्बोधन गरेपनि उसले एक पछि अर्को गर्दै नयाँ नयाँ शर्त थप्दै लगेको छ ।
प्रसारण लाइन निर्माण सरकारले गर्ने भएको छ । सवस्टशेन निर्माणका लागि सरकारले जग्गा समेत खरिद गरिसकेको छ । तर अहिले आएर चिनियाँ कम्पनीले आयोजना बहुउद्देश्यिय बनाउनुपर्ने र विद्युत् खरिद दर बढाउनुपर्ने शर्त अगाडि सारेको छ ।
विद्युत् प्राधिकरणले विद्युत् खरिद दर समेत सार्वजनिक गरिसकेको छ । जलाशयुक्त आयोजनाका लागि प्रतियुनिट रु ११ मा विद्युत् खरिद गर्ने जनाएको छ । तर सो दरमा समेत थ्री गर्जेजले चित्त बुझाएको छैन ।
करिब १६ वर्ष अष्ट्रेलियन कम्पनी स्मेकको पोल्टामा रहेको आयोजना पछिल्ला सात वर्ष चिनियाँ कम्पनी थ्री गर्जेजको हातमा रहेको छ ।
आयोजना बन्ला र आर्थिक समृद्धिको ढोका खुल्ला भन्ने आशामा अहिलेसम्म कुनै प्रगति नभएको देख्दा प्रदेश नं ७ का जनता निराश भएका छन् ।
सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिभाषित गरेको छ । तर कार्यप्रगति भने सधैँ शून्यकै हाराहारीमा रहेको छ ।
चिनियाँ कम्पनी किन आयोजनालाई द्रुतत्तर रुपमा अगाडि बढाउन तयार छैन भन्ने तथ्यबाट देखिएको ऊर्जा सचिव अनुपकुमार उपाध्यायको भनाइ छ । उनले आयोजनाबाट जतिसक्दो चाँडो चिनियाँक म्पन िभाग्न लागेको आफूले अनुभव गरेको बताए ।
उसले उठाएका अधिकांश माग सरकार र नेपाल विद्युत् प्राधिकरणले सम्बोधन गर्दासमेत परियोजना अगाडि बढ्न नसक्नुको पछाडि काम गर्ने मनसाय नै नभएको देखिएको उनको भनाइ छ ।
आयोजनाका लागि पुनःस्थापना र पुनःवासको कामसमेत सरकारले नै गर्ने भएको छ । आयोजनामा चिनियाँ कम्पनीको ७५ प्रतिशत र प्राधिकरणको २५ प्रतिशत शेयर रहने व्यवस्था गरिएको छ । आयोजनाको अनुमानित कुल लागत १ खर्ब ६२ अर्ब बराबर रहेको छ ।
आयोजनालाई लगानी बोर्डले सहजीकरण गरिरहेको छ । संयुक्त रुपमा आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र चिनियाँ कम्पनीबीच सम्झौता भएको लामो समय भए पनि संयुक्त कम्पनी खडा गर्ने विषयमा सहमति हुन सकेको छैन ।
थ्री गर्जेजले आयोजनाको क्षमता घटाएर ६०० मेगावाट बनाउनुपर्ने र विद्युत् खरिद दरमा पुनरावलोकन गर्नुपर्ने धारणा राखेको छ । आयोजनाको क्षमता ७५० मेगावाट प्रस्ताव गरिएको छ ।
SHARE YOUR THOUGHTS