यसकारण अझै टुंगिएन एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर « Eglish Khabarhub

यसकारण अझै टुंगिएन एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर



काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंक (एकआपसमा गाभिने) मर्जरको कुरा शुरु भएको अढाइ वर्ष वित्यो । तर, अझै पनि यी दुई बैंकबीच मर्ज हुने वा नहुने टुंगो लागेको छैन ।

भारतीय कम्पनी इएनवाइले गत असार तेस्रो साता नै मूल्यांकन प्रतिवेदन (भ्यालुएटर रिपोर्ट) को मस्यौदा बुझाए पनि अझैसम्म मर्जरको ठोस प्रक्रिया अघि बढ्न नसकेको हो ।

किन रोकियो त यी दुई ठूला बैंकबीचको मर्जर ? लक्ष्मी बैंकका एक सञ्चालक भन्छन्– ‘एउटा काम सकिएपछि अर्को शर्त थप्ने एभरेष्ट बैंकको प्रवृत्तिका कारण मर्जर लम्बिएको हो ।’

दुबैं बैंकका सञ्चालकबीच भ्यालुएटरले प्रतिवेदन बुझाएपछि सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियोमा) गत असार मसान्तमै नेगोसेसन गरेर साउन पहिलो सातासम्ममा मर्ज हुने वा नहुने भन्ने अन्तिम टुंगो लगाउने सहमति भएको थियो ।

तर, भ्यालुएटरले मस्यौदा बुझाएपछि एभरेष्ट बैंकका सञ्चालकहरुले आर्थिक वर्ष २०७४/०७५ को सम्पत्ति तथा दायित्वको पनि मूल्यांकन गरेर मात्रै मर्जरको थप प्रक्रिया अघि बढाउनुपर्ने शर्त थपेका छन् । इएनवाइले आर्थिक वर्ष २०७३/०७४ को अडिटेड रिपोर्टको आधारमा स्वाप रेसियो सहितको मस्यौदा बुझाएको थियो ।

‘एभरेष्ट बैंकका सञ्चालकहरुले यस्तो शर्त नथपेका भए एक महिना अघिनै दुई बैंकबीचको मर्जरको विषय किनारा लागिसक्थ्यो,’ लक्ष्मी बैंकका एक सञ्चालकले भने ।

एभरेष्ट बैंकका सञ्चालकका अनुसार एक वर्षको अवधिमा बैंकको सम्पत्ति तथा दायित्वमा ठूलो हेरफेर भएकाले यस्तो शर्त राख्नु परेको हो ।

‘हाम्रो नियत मर्जर नहोस् भन्ने होइन,’ ती सञ्चालकले भने, ‘गत आर्थिक वर्षको रिपोर्टलाई पनि आधार मानेर मर्जरमा जानु बढी बैज्ञानिक र व्यवहारिक हुन्छ भन्ने हो ।’

हालैमात्र दुबै बैंकले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण सार्वजानिक गरेका छन् ।

०७५ असार मसान्तमा प्रकाशित वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्ता पुँजी ८ अर्ब २२ करोड छ भने रिजर्भमा २ अर्ब ५२ करोड रुपैयाँ छ । बैंकले ६७ अर्ब ७३ करोड रुपैयाँँ निक्षेप संकलन गरी ६१ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जबकि अघिल्लो आर्थिक वर्ष अर्थात् ०७३/७४ मा बैंकले ५९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले अघिल्लो वर्षको भन्दा १० करोड रुपैयाँले नाफा बढाएर गत वर्ष १ अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा एभरेष्ट बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ छ भने ६ अर्ब २९ करोड रुपैयाँ छ । यस अवधिमा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जबकि बैंकले आर्थिक वर्ष २०७३/०७४ मा ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

अघिल्लो वर्षको भन्दा बैंकले ५४ करोड रुपैयाँ नाफा बढाएर गत वर्ष २ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ ।

Publish on: