प्रहरीको दशैं तयारी, काठमाण्डौ उपत्यकामा यस्तो बन्दैछ विशेष सुरक्षा योजना « Eglish Khabarhub

प्रहरीको दशैं तयारी, काठमाण्डौ उपत्यकामा यस्तो बन्दैछ विशेष सुरक्षा योजना



काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ ।

परिसरले पत्रकार सम्मेलन गरेर दशैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना निर्माण गरेको बताएको छ ।

सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले चाडवाडलाई लक्षित गरेर काठमाडौँको सुरक्षा व्यवस्थालाई कडा बनाएको बताए ।

“काठमाडौँभित्र हुने हत्या, अपहरण, ठगी, चोरी, महिला हिसांलगायत घटनालाई घट्न नदिन तीन हजारभन्दा बढी प्रहरीलाई परिचालन गर्न लागेका छौँ”, उनले भने ।

उनले व्यक्ति तथा सम्पत्तिको सुरक्षा, आर्थिक कारोवार, बैंक तथा वित्तीय संस्थामा हुने चोरी लुटपाट, टिकटमा हुने ठगी बढ्न सक्ने हुनाले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती मोटर गस्ती सञ्चालन गर्न लागेको जानकारी दिए ।

परिसर प्रमुख लामाले बैंक तथा वित्तीय क्षेत्र, यातायात सञ्चालन हुने क्षेत्र, व्यापारिक कारोवार हुने क्षेत्र, होटल रेष्टुराँ, नाकालगायतका क्षेत्रमा विशेष गस्ती खटाइएको बताए ।

कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर र हल्चोक टिकट काउण्टरमा समेत प्रहरी खटाउन लागिएको परिसरले जनाएको छ ।

एम्बुस टीम तैनाथ
प्रहरीले चाडपर्वका समयमा लुटपाट र डकैती गरेर भाग्ने आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गर्न ३० ठाउँमा कुकुरसहितको ‘धराप टोली’ (एम्बुस टीम) तैनाथ गरेको छ ।

चोरी÷डकैती तथा लुटपाटका घटनापछि अभियुक्त फरार हुन नदिन डिएसपी र इन्सपेक्टरको कमान्डमा २५ टोलीलाई नाकाबन्दी र सर्च एन्ड अपरेसनमा परिचालन गरिएको छ ।

दसैं, तिहार, छठ, नेपाल सम्वत लगायत चाडपर्वमा वित्तीय अपराधमा संलग्न गिरोह सक्रिय हुने भन्दै महानगरीय प्रहरीले त्यसलाई नियन्त्रण गर्न काठमाडौंका ३० ठाउँमा ‘धराप टोली’ खटाइएको छ । काठमाडौं प्रहरी प्रमुख लामाले वित्तीय अपराध नियन्त्रणका लागि सादा पोशाक, गस्ती र कुकुरसहितको धराप टिम तैनाथ गरिएको जानकारी दिए ।

यता, नागढुंगा सडकखण्डमा दिनहुँ जाम हुन थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिग्रेको गाडी हटाउने दुई वटा ‍र्याकर अर्थात गाडी तान्ने मेसिन सञ्चालनमा ल्याएको छ । गाडी बिग्रेर हुने ट्राफिक जाम हटाउन सडक विभागले काठमाडौंको नागढुंगा र धादिङको झ्याप्लेखोलामा दुई वटा‍ र्याकरको व्यवस्था गरेको हो ।

र्याकर सञ्चालनमा आएपछि गाडी बिग्रेर हुने कलंकी–नागढुङ्गा–धार्केसम्मको जाम तत्काल हट्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए ।

Publish on: