काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नै ५४ अर्ब ५५ करोड रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ ।
साउन, भदौ र असोज महिनामा ५४ अर्ब ५५ करोड १३ लाख ४२ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको भन्सार विभागले जानकारी दिएको हो ।
चालु आर्थिक वर्षको साउन महिनामा ७ अर्ब ९५ करोड ३१ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ । भदौ महिनामा भने १७ अर्ब ११ करोड २५ लाख १९ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ । असोज महिनामा भने २९ अर्ब ४८ करोड ५६ लाख ५२ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४१ अर्ब ७७ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको सवारी साधनहरु आयात भएको थियो ।
गत आर्थिक वर्षको साउन महिनामा ५ अर्ब ७८ करोड ३६ लाख ९६ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो । भदौ महिनामा १३ अर्ब ५१ करोड ७७ लाख १० हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो भने असोज महिनामा २२ अर्ब ४७ करोड ३४ लाख ३३ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो ।
चालु अािर्थक वर्षको ३ महिना र गत आर्थिक वर्षको ३ महिनाको तुलनामा चालु ३ महिनामा १२ अर्ब ७७ करोड ६५ लाख ३ हजार रुपैयाँ बराबर बढी सवारी साधन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार बर्सेनि सवारी साधनको माग बढ्ने क्रममा रहेका कारण आर्थिक वर्षकै ३ महिनामा सवारी साधनको आयात बढ्न पुगेको हो । अझ चाडपर्वका बेला सवारी साधनहरु फेर्ने प्रचलन व्यापक रुपमा रहेकाले सवारी साधन आयात बढी हुन सक्ने विभागको भनाई छ ।
गत आर्थिक वर्षमा कुल ८६ अर्ब २९ करोड ७९ लाख ५३ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष सवारी साधन आयात ६ अर्ब ७९ करोड रुपैयाँले वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७३÷७४ सालमा कुल ७९ अर्ब ५० करोड २२ लाख १० हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो ।
नेपालमा ३३ वटा भन्दा बढी देशहरुबाट सवारी साधन आयात हुने गर्छ ।
नेपालमा जापान, थाइल्याण्ड, इन्डोनेसिया, जर्मन, फ्रान्स, अमेरिका, लक्षिण कोरिया, बेलायत, इटाली, स्पेन, पोल्याण्ड, ताइवान, रोमनिया, दुबई, मेक्सीको, बेल्जियम, सोल्भाकिया, मलेसिया, नामिबिया, सिङगापुर, अष्ट्रेलिया, अष्ट्रिया, ब्राजिल, क्यानडा, हङगरी, इरल्याण्ड, रसिया, साउथ अफ्रिका, टर्की, यूक्र्राइन, भियतनाम, भारत, चीन, लगायतका देशरुबाट सवारी साधनहरु भित्रिने गरेका छन् ।
अबका दिन चुनौतिपूर्ण
आर्थिक बर्षको पहिलो त्रैमासमा गाडी आयात बढेको देखिए पनि अवका दिन चुनौतिपूर्ण हुने ब्यवसायीले बताएका छन् ।
बैंकिङ क्षेत्रमा तरलता अभावले नकारात्मक असर पारेकोले आगामी दिन चुनौतिपूर्ण हुने नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष शम्भु दाहालले बताए ।
‘पहिलो तीन महिनाको तथ्यांक हेर्दा गाडी आयात केही बढेको देखिन्छ, अघिल्लो बर्षको तुलनामा १०÷१५ प्रतिशतले बढ्नु स्वाभाविक पनि हो, तर बैंकहरुले तरलता कमीलाई कारण देखाउँदै गाडी खरिदमा कर्जा कडाइ गर्न थालेका भन्ने सुनिएको छ, यस्तो कडाइ लामो समय भयो भने हाम्रो ब्यवसायमा नकारात्मक असर पर्छ,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने ।
SHARE YOUR THOUGHTS