तीन महिनामा १२ प्रतिशत पूँजीगत खर्च, ठेक्का सम्झौता बाहेक अरु काम भएन « Eglish Khabarhub

तीन महिनामा १२ प्रतिशत पूँजीगत खर्च, ठेक्का सम्झौता बाहेक अरु काम भएन



चितवन । जिल्लामा रहेका सरकारी कार्यालयले गत तीन महिनामा पूँजीगत खर्च १२ दशमलब ४४ प्रतिशत मात्र गरेका छन् ।

जिल्लामा निकासा भएको कूल पूँजीगत खर्च एक अर्ब ९० करोड ६४ लाख १५ हजारमध्ये चालु आर्थिक वर्षको तीन महिनामा २३ करोड ७१ लाख ६४ हजार १४९ मात्र खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका सूचना अधिकारी कृष्णबहादुर अधिकारीका अनुसार पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय र नारायणगढ मुग्लिन सडक आयोजनाले मात्र यस वर्ष पूँजीगत खर्च गरेका छन् । अन्य कार्यालयले भने खर्च नगरेको उनले बताए ।

अधिकारीले अहिलेको समय ठेक्काको बोलपत्र आह्वान गर्ने, ठेक्का सम्झौता गर्ने काम मात्रै भएकाले पूँजीगत खर्च कम भएको बताए । गएको तीन महीनामा पूँजीगत खर्चको तुलनामा चालु खर्च भने केही बढी भएको देखिएको छ ।

चालु खर्चका लागि सात अर्ब पाँच करोड ७४ लाख २९ हजार निकासा भएकामा तीन महीनामा दुई अर्ब १७ करोड १६ लाख १५ हजार खर्च भएको कार्यालयले जनाएको छ । जिल्लामा बजेट निकासा हुने कार्यालय ६७ वटा रहेका छन् । रासस

Publish on: