काठमाडौं । मंसिर १ गते राष्ट्रिय कफी दिवस भव्यताकासाथ मनाइदै छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको वृहत अभियानमा जुटौँ’ भन्ने नारा साथ राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा शनिबार मंसिर १ गते कफी दिवस मनाइन लागको हो ।
राष्ट्रिय कफी दिवसको १४ औँ संस्करणसम्म आइपुग्दा नेपालमा कफीको उत्पादन बढ्दो क्रममा रहेको भनिएपनि आयात बढ्दो र निर्यात घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।
गत वर्षको तुलनामा कफीको आयात करिब ६४ प्रतिशतले बढेको र निर्यात करिब ११ प्रतिशतले घटेको तथ्यांकले देखाएको हो ।
भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार ९ करोड ३७ लाख २५ हजार रुपैयाँ बराबरको ८४.२२ मेट्रिकटन कफी निर्यात भएको छ भने ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको छ ।
उत्पादन बढिरहँदा आयात बढ्नु, तर निर्यात घट्नुले नेपालमा उत्पादित कफीको बजार नेपाल भित्रै बढ्दै गएको अनुमान गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम बताए ।
‘देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ । यधपी, उत्पादनमा अझ वृद्धि गर्दै निर्यातपनि बढाउनु आजको प्रमुख आवश्यकता हो,’ गौतमले भने ।
बोर्डको तथ्यांक अनुसार देशभर जम्मा ५ सय १३ मेट्रिक टन कफीको ग्रीन बिन उत्पादन भएको देखिन्छ । गएको वर्षको तुलनामा यो करिब १० प्रतिशतको वृद्धि हो । गत वर्ष ४ सय ६६ मेट्रिक टन कफी उत्पादन भएको थियो ।
उनले तत्कालीन जिल्ला कृषि विकास कार्यालयहरू र गैरसरकारी संस्थाहरूबाट सञ्चालित कफी विस्तार कार्यक्रमको प्रभाव स्वरूप कफी रोपण क्षेत्र केही विस्तार हुँदा कफीको उत्पादनपनि बढेको बताए ।
हाल कफीको कुल रोपण क्षेत्र २ हजार ६ सय ६० हेक्टर पुगेको छ । विगत ४ वर्ष देखि कफी विस्तार कार्यक्रमले व्यापकता पाएकोले आगामी दिनहरूमा पनि कफीको उत्पादनमा थप वृद्धि हुने आँकलन गरिएको उनले बताए ।
यस्तै, यूके प्रोजेक्ट अन्तर्गत ट्रेड एण्ड प्रोजेक्ट सेक्टर डेभलपमेन्ट प्रोजेक्टको सहयोगमा बोर्डले यस वर्ष गरेको जिआईएस आधारित अध्ययनबाट नेपालभर करिब ११ लाख ९८ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने छ । त्यस मध्ये ६१ हजार २ सय २८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको गौतमले बताए ।
अति उत्तम क्षेत्रलाई मात्र आधार मान्दा पनि करिब ४५ क्षेत्रमा मात्र हामीले कफी उत्पादन गरिरहेको उनले जानकारी दिए ।
उनले कफी खेती विस्तारलाई अभियानकै रूपमा अगाडी बढाउनु पर्ने र उत्पादनसँगै नेपालको आफ्नै कफीलाई विशिष्टिकरण गर्न गुणस्तरमा थप सुधार गर्दै लैजाने बताए ।
यस्तो छ कफीको मूल्यः
२०७५ मंसिर १ गते देखि लागु हुने गरी यस वर्षको कच्चा कफीको मूल्य निम्नानुसार तोकिएको छः
फ्रेस चेरी कफीः
ग्रेड एः ८५ प्रतिकेजी (अर्गानिक प्रमाणिकरण भएको)
ग्रेड बीः ८० रुपैयाँ प्रतिकेजी (अर्गानिक प्रमाणिकरण नभएको)
पार्चमेन्ट कफीः
ग्रेड एः ४ सय २५ रुपैयाँ प्रतिकेजी (अर्गानिक प्रमाणिकरण भएको)
ग्रेड बीः ४ सय १० रुपैयाँ प्रतिकेजी (अर्गानिक प्रमाणिकरण भएको)
ड्राइ चेरीः
ग्रेड एः १ सय ४० रुपैयाँ प्रतिकेजी
ग्रेड बी १ सय रुपैयाँ प्रतिकेजी
ग्रेड सीः ४० रुपैयाँ प्रतिकेजी
SHARE YOUR THOUGHTS