बजार विकास गर्न खोलिएका म्युचुअल फण्ड नै खेलाडी, बैंकमा पैसा राखेर ब्याज खाने, सरकारी छुट पाउने « Eglish Khabarhub

बजार विकास गर्न खोलिएका म्युचुअल फण्ड नै खेलाडी, बैंकमा पैसा राखेर ब्याज खाने, सरकारी छुट पाउने



काठमाडौं । सीमित खेलाडीका कारण छोटो समयमै सेयर बजारमा ठूलो उत्तारचढाबको समस्या देखिएपछि सरकारले बजारलाई स्थिर बनाउने उद्देश्यले संस्थागत लगानीकर्ता (म्युचुअल फण्ड) भित्र्यायो ।

सेयर बजारमा म्युचुअल फण्डको प्रवेशसँगै अब सीमिति खेलाडीले सेयर बजार घटबढ गराएर फाइदा लिन नसक्ने सरकारी अधिकारीहरुको विश्लेषण थियो ।

सेयर बजारका जानकारीहरु पनि बजारको दीगो विकासका लागि म्युचुअल फण्ड अत्यावश्यक भएको तर्क गर्थे ।

म्युचुअल फण्डले विभिन्न स्किमहरु बिक्री गर्दै आएका छन् । जसको मूल्य प्रतियुनिट १० रुपैयाँ मात्रै हुन्छ ।

लगानीकर्ताले म्युचुअल फण्डमा कम्तिमा १० युनिट किन्नुपर्ने हुन्छ । जसकारण खल्तीमा १ हजार रुपैयाँभएको सर्वसाधारणले पनि म्युचुअल फण्डमार्फत् सेयर बजारमा लगानी गर्न सक्छ । तर अहिले बजारमा अंकितमूल्य भन्दा कममा पाईने हुँदा ८ सय रुपैयाँ जति भएपनि पुग्छ ।

तर, म्युचुअल आउँदा पनि सेयर बजार स्थिर हुन सकेको छैन ।

सरकारले बजारलाई स्थिर राख्ने उदेश्यले म्युचुअल फण्ड ल्याए पनि उनीहरु व्यावसायिकरुपमा नाफा घाटा हेरेर अघि बढ्नुपर्ने भएकाले सरकारले सोचेजस्तो प्रतिफल आउन सकेको छैन ।

यसको अर्थ के हो भने पछिल्लो समय म्युचुअल फण्डहरु नै सेयर बजारका खेलाडी भएका छन् । र, कतिपय लगानीकर्ताहरुले म्युचुअल फण्डले कुनै कम्पनीको सेयर किन्यो भने किन्ने अनि बेच्यो भने बेच्ने गर्न थालेका छन् ।

किनभने म्युचुअल फण्डमा काम गर्ने कर्मचारीहरुले कुनैपनि कम्पनीको सेयर किन्दा वा बेच्दा त्यसको प्राविधिक विश्लेषण गरेका हुन्छन् । अझ भनौं उनीहरुको विषेशज्ञता नै यही हो । त्यसैले धेरै लगानीकर्ताहरुले उनीहरुको फलो गरेका हुन् ।

जसकारण आजको नेपाली पुँजी बजारमा म्युचुअल फण्ड सेयर बेचेर बाहिरिए भने सेयर बजार घट्ने गरेको देखिएको छ ।

‘बजार अलि अफ्ठेरो परिस्थितिमा जाने देख्नेवित्तिकै म्युचुअल फण्डले सेयर बेच्न थालिहाल्छन्, उनीहरुले बेचेपछि बजार घटिहाल्छ,’ एक लगानीकर्ताले क्लिकमाण्डूसँग भने, ‘म्युचुअल फण्डहरु मार्केट डेभ्लपर होइन, मार्केट प्लेअर बन्दै गएका छन् ।’

बजारको विकास गर्ने विश्वासमा सरकारबाट म्युचुअल फण्डहरुले विभिन्न सुविधाको उपयोग गरिरहेका छन् । तर, बजार घट्ने अवस्था देखियो भने थप लगानी गरेर बजारलाई स्थिर गर्नुको साटो खेलाडी जस्तो हत्तपत्त बाहिरिँदा सेयर बजारमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।

अब म्युचुअल फण्डको रिपोर्ट हेरौं

सञ्चालनमा रहेका म्यूचुअल फण्डमध्ये ९ वटाले मंसिर महिनाको मासिक रिपोर्ट सार्वजनिक गरेका छन् । उनीहरुले सार्वजनिक गरेको रिपोर्ट हेर्दा ओरालो लाग्दै आएको धितोपत्र बजारमा लगानी गर्नुको सट्टा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राखेर ब्याज खान पल्केको देखिएको छ ।

फण्डहरुले मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खाएर बस्ने र सुचिकृत सेयरमा लगानी गर्ने क्रम भने न्यून हुँदै गएको छ ।

फण्डको अवधारणा धितोपत्र बजारको विकासका लागि गरिएको हो । तर अहिले उनीहरुले बजारको विकासभन्दा नाफामुखी बन्दै जाँदा उनीहरु जे उद्देश्यले स्थापना भएका हुन त्यो हुन सकेको छैन ।

९ वटा फण्डहरु हेर्दा सानिमा इक्वीटी फन्ड र एनआईसी एसिया ग्रोथ फण्डको कात्तिक महिनाको तु्लनामा सुचिकृत सेयरमा लगानी बढेको छ ।

तर, बाँकी रहेका फण्डहरुको सुचिकृत सेयरमा लगानी घटेको देखिएको छ । यसको अर्थ उनीहरु यतिबेला गिरावट आएको बजारका विकासभन्दा पनि बैंकको महंगो ब्याज खाएर बसेका छन् ।

फण्डहरुले पैसा मुद्दति निक्षेपमा राखेर ब्याज खाएकै कारण प्रतिइकाई खुद सम्पती मूल्य पनि नाफामा जान सकेको छैन । मंसिरसम्म हेर्दा सबै फण्डहरुको प्रतिइकाई खुद सम्पती नोक्सानमा देखिएको छ ।

फण्डहरुले सेयरमा लगानी बढाउन सकेको खण्डका बियरीस बजारलाई बुलिस ट्रेन्डमा लैजान सहयोग पुग्ने लगानीकर्ताहरुको अपेक्षा रहेको छ । अहिलेसम्मको परिस्थिति हेर्दा यो सम्भव हुने सम्भावना न्यून रहेको देखिन्छ ।

Publish on: