‘कर्णालीको पानी, हाम्रो लगानी’ भन्ने नारासहित कर्णाली प्रदेशले ५०० मेगावाट बिजुली उत्पादन गर्ने « Eglish Khabarhub

‘कर्णालीको पानी, हाम्रो लगानी’ भन्ने नारासहित कर्णाली प्रदेशले ५०० मेगावाट बिजुली उत्पादन गर्ने



काठमाडौँ । कर्णाली प्रदेशले ‘कर्णालीको पानी, हाम्रो लगानी’ भन्ने नारासहित कर्णालीमा ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । अपार जलस्रोतको धनी प्रदेश भएपनि हालसम्म ठोस रुपमा कुनै पनि ठूला आयोजना नबनीरहेको भन्दै प्रदेशले जलविद्युत्को विकासमा ठोस अवधारणासहित अगाडि बढ्ने संकल्प गरेको हो ।

सो प्रदेशमा कर्णाली, भेरी जस्ता ठूला नदी र त्यसको जलाधार क्षेत्र भएपनि हालसम्म ठूलो मात्रामा लगानी हुन सकेको छैन । अछाम र दैलेखको सीमा भएर बग्ने कर्णाली नदीमा भारतीय कम्पनी जिएमआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने भनेर सरकारसँग सम्झौता गरेको लामो समय भएपनि हालसम्म कुनै ठोस काम गर्न सकेको छैन ।

लगानी जुटाउन नसक्दा सो आयोजनाको अवस्थामा हाल कोमामा नै छ भन्दा फरक पर्दैन ।

यस्तै साना र मझौला आयोजनाको निर्माण सुरु भएपनि त्यसले कर्णालीको समग्र माग धान्न सक्ने अवस्था रहेको छैन । जसका कारण प्रदेश सरकार आफैले संयोजन गरेर ठूलो क्षमताको आयोजना निर्माण गर्न लागेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

मुख्यमन्त्री शाहीकाअनुसार त्यस्तो आयोजनामा कर्णालीबासी जनताको लगानीलाई समेत सुनिश्चित गरिने, केन्द्र, प्रदेश सरकारले पनि आवश्इक लगानी गर्ने, बैंक तथा वित्तीय संस्थालाई समेत लगानीका लागि आग्रह गरिने बताए ।

प्रदेश समन्वय परिषद्को पहिलो बैठक ३१ बुँदे साझा प्रतिबद्धतापत्र जारी गरेको छ । त्यसमा पाँच सय मेगावाट विद्युत् निकालने लगायत रणनीतिक महत्वका विषय समेटिएको उनले बताए ।

बैठकले तीन तहको सरकारको अन्तर सम्बन्धलाई थप बलियो र विकासको खाका कोर्न महत्त्वपूर्ण छलफल भएको छ ।

‘समृद्ध कर्णाली, खुसी कर्णालीवासी’ लक्ष्य हासिल गर्न आफ्नै मौलिकतामा आधारित ‘कर्णाली विकास मोडल’ अपनाउने निर्णय बैठकले गरेको छ । बैठकमा प्रथम पञ्चवर्षीय योजना र वार्षिक योजना तय गरी आवधिक योजनामार्फत कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने साझा प्रतिबद्धता गरिएको छ ।

मुख्यमन्त्री शाहीकाअनुसार प्रदेशको उच्च प्राथमिकतामा रहेको ‘कनेक्टिभिटी र इलेक्ट्रीसिटी’ अन्तर्गत पूर्वाधार विकास र सडक सञ्जालको विस्तार, हवाई यातायातको भरपर्दो व्यवस्था गरिने छ । जल विद्युतको विकास, विद्युतीकरण र वैकल्पिक ऊर्जाको व्यवस्थापनमा समेत जोड दिइएको छ ।

Publish on: