काठमाडौं । मुलुकको भुक्तानी सन्तुलनमा चमत्कारिक सुधार देखिएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा ८५ अर्ब रुपैयाँले ऋणात्मक रहेको भुक्तानी सन्तुलन ६ महिनामा ६३ अर्ब ६८ करोड रुपैयाँले मात्रै ऋणात्मक भएको छ ।
गत वर्षको यसै अवधिमा भने भुक्तानी सन्तुलन ६ अर्ब ६६ करोड रुपैयाँले घाटामा रहेको थियो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजानिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको आर्थिक स्थितिमा यस्तो देखिएको हो । पुस मसान्तको तथ्यांक आउँदा भुक्तानी सन्तुलन १ खर्ब रुपैयाँले ऋणात्मक हुने अनुमान गरिएको थियो । किनभने त्यसअघिका महिनाहरुमा महिनैपिच्छे अर्बौंले ऋणात्मक स्थिति बढेको थियो ।
रेमिट्यान्सको आप्रबाह पनि उस्तै छ, आयात झन बढेको छ, यस्तो अवस्थामा कसरी भुक्तानी सन्तुलनमा चमत्कारिक सुधार आयो ? भनेर क्लिकमाण्डूले राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टलाई सोधेको थियो ।
पुस महिनामा सरकारले विदेशीसँग लिने ऋण १८ अर्ब रुपैयाँले बढेका कारण भुक्तानी सन्तुलनमा चमत्कारिक सुधार दिएको भट्टले जानकारी दिए ।
‘अहिलेको भुक्तानी सन्तुलनमा आएको सुधार रेमिट्यान्स बढेको, आयात घटेको र हाम्रो विदेशी मुद्राको आम्दानी बढेका कारणले भएको होइन,’ भट्टले क्लिकमाण्डूसँग भने, ‘सरकारले विदेशीसँग पुस महिनामा मात्रै १८ अर्ब रुपैयाँ बराबरको ऋण लिएका कारण भुक्तानी सन्तुलनमा सुधार देखिएको हो ।’
राष्ट्र बैंकका अनुसार पुस मसान्तमा चालु खाता घाटा बढेर १ खर्ब ५२ अर्ब १६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा ९७ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।
अमेरिकी डलरमा गत वर्षको ६ महिनामा ९५ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ३३ करोड ३६ लाख पुगेको छ ।
समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ६ अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रहेको छ । गत वर्षको यसै अवधिमा पूँजीगत ट्रान्सफर १० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३३ करोड रहेको थियो ।
SHARE YOUR THOUGHTS