ओली प्रधानमन्त्री भएको १ वर्षमा ३१२ अंकले घट्यो सेयर बजार, आइपिओभन्दा दोस्रो बजारमै सस्तो « Eglish Khabarhub

ओली प्रधानमन्त्री भएको १ वर्षमा ३१२ अंकले घट्यो सेयर बजार, आइपिओभन्दा दोस्रो बजारमै सस्तो



काठमाडौं । स्थानीय निकाय निर्वाचनको पूर्वसन्ध्यामा धितोपत्र बजारमा दोहोरो अंकको गिरावट शुरु भएको थियो । त्यो समयमा सेयर बजारले कम्युनिस्टलाई नपत्याउने भएकाले बजार घटेको निकै चर्चा चल्यो ।

त्यही चर्चाकै बीचमा चुनावी प्रचार–प्रसारको क्रममा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमा आयोजित चुनावी सभामा भनेको थिए, ‘अहिले सेयर बजार घटदो क्रममा छ, केही उत्ताउलाहरुले वाम गठबन्धनको सरकार आएपछि बजार निकै घट्छ भन्ने अफवाह फैलाउन सुरु गरेका छन्, सबै लगानीकर्ता ढुक्क भए हुन्छ, हाम्रो सरकार बन्ने निश्चित छ, हाम्रो सरकार सेयर बजार मैत्री हुन्छ, बजारमा कुनै समस्या आउन दिँदैन, त्यसैले ढुक्क भएर लगानी गरेहुन्छ ।’

ओलीले यसो भनेर भाषण गरेको दिन बजारमा दोहोरो अंकको सुधार आएको थियो । त्यो दिन ओलीको भाषणको कारण बजार बढेको विष्लेषकले भनेको थिए ।

परिणामस्वरुप केपी शर्मा ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्री भए, त्यो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३६.०१ बिन्दुले बढेर इन्डेक्स १ हजार ४२४.९५ बिन्दुमा पुगेको थियो । त्यो दिन सबै तीर वाम गठबन्धनको सरकारलाई सेयर बजारले स्वागत गर्यो भनेर निकै चर्चा भयो ।

सेयर बजारमा सामान्य घट्बढ भइ नै रहन्छ, यो बजारको नियम पनि हो । तर ठूलो अंककले बढनु वा घट्नुलाई अस्वभावीक रुपमा हेरिने गरिएको छ । ओली प्रधानमन्त्री भएको दिन दोहोरो बिन्दुले बढेको बजार भोलिपल्ट ११.०५ बिन्दुले घटेर इन्डेक्स १ हजार ४१३.९ बिन्दुमा रोकियो । त्यसपछि बजारमा लगातार जस्तै दोहोरो अंकको गिरावट देखियो ।

ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्री भएको दिन ३६.०१ बिन्दुले बढेको बजार फागुन २० गते ४१.५६ बिन्दुले घटेको थियो भने चैत्र १२ गते एक वर्ष अवधिको सबै भन्दा बढी ५१.८९ बिन्दुले घटेर ११६८.५५ बिन्दु कायम भएको थियो ।

यो एक वर्षको अवधिमा अर्थात बिहीबारसम्म सेयर बजारमा ३१२.०८ अंकको गिरावट देखिएको छ । ओली प्रधानमन्त्री भएको दिन १४२४.९५ बिन्दुमा रहेको सेयर बजार हिजो बिहीबारसम्म आईपुग्दा १११२.८७ बिन्दुमा कायम भएको छ ।

यो अवधिमा बजारको विकास र विस्तारका लागि लगानीकर्ताले आन्दोलनहुँदै आमरण अनसन बस्नेदेखि सरकारी निकायबाट बजारको विकासका लागि विभिन्न कार्यदल बनाएर काम गरे । त्यसको असर सेयर बजारमा कुनै पनि देखिएको छैन ।

यो अवधिमा सेयर बजार ओरालो लाग्दा लाग्दै साधारण सेयर पाउने मूल्यमा अर्थात १०० रुपैयाँमा साधारण सेयर भरेका लगानीकर्ताले समेत नोक्सानी व्यहोरेका छन् । यति बेला सरकार सबै नेपालीलाई जलविद्युतको सेयर दिने र सबै नेपालीलाई सेयरको मालीक बनाउने भनेर लागेको छ ।

बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी भन्ने नाराका साथ जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गरेका छन् । कार्यक्रममा सुरु गर्दै आगामी चैत ७ गतेदेखि सर्वसाधारणलाई सेयर बेच्ने र पहिलो सेयर आफैले खरिद गर्ने बताएका छन् ।

ओलीले यसो भनेपनि कति कित्ता सेयर लिने भन्ने चाँही जानकारी गराएका छैनन् । सेयर किन्न डिम्यान खाता, सिआरएन नम्बर चाहिन्छ भन्ने त पक्कै प्रधानमन्त्रीलाई जानकारी नै होला ।

ओलीले सबै नेपालीलाई जलविद्युतको सेयर दिने भने पनि यतिबेला धेरै लागानीकर्ता जलविद्युत कम्पनीको सेयरमा नै डुबेका छन् । सेयर बजारमा सुचिकृत २४ वटा कम्पनी छन् । ती कम्पनीको साधारण सेयर १०० रुपैयाँमा किनेका लगानीकर्तामध्ये १० वटा कम्पनीको सेयरले नाफा हैन भएको लगानी पनि नोक्सानीमा पुर्याएको छ ।

कूल २४ कम्पनीमध्ये १० वटाको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम छ । सबै भन्दा सस्तो नेशनल हाईड्रोपावरको ६३ रुपैयाँ रहेको छ । १०० रुपैयाँमा नेशनलको सेयर किनेका लगानीकर्ताले अहिले प्रति कित्ता ३७ रुपैयाँ नोक्सानी व्योहोरेका छन् ।

साधारण सेयरमा लगानीकर्ताले नोक्सानी व्यवहोरी रहेको समयमा प्रधानमन्त्री ओलीले सेयर किन्ने भनेका छन् । अहिलेको अवस्थामा साधारण सेयरका लागि चैत ७ गतेसम्म कुर्नु भन्दा पैसा भएमा अहिले नै दोस्रो बजारमा सेयर किन्दा निकै फाइदा हुने देखिएको छ ।

Publish on: