अझै आधुनिक प्रविधि भित्र्याएर भूमिलाई व्यवस्थित गर्छुः मन्त्री अर्याल « Eglish Khabarhub

अझै आधुनिक प्रविधि भित्र्याएर भूमिलाई व्यवस्थित गर्छुः मन्त्री अर्याल



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समग्र जग्गा प्रशासनलाई व्यवस्थित गर्ने कुरामा सफलता मिल्नेगरी काम गर्न कर्मचारीहरूलाई आग्रह गरेकी छिन् ।

दोस्रो विश्व नापी दिवसको सन्दर्भमा नापी विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले समग्र जग्गा प्रशासनलाई व्यवस्थित गर्ने कुरामा सफलता मिल्नेगरी काम गर्न आग्रह गरिन् । जग्गा प्रशासनका सन्दर्भमा धेरै काम गर्न बाँकी रहेको भन्दै मन्त्री अर्यालले अब हरेक कुरामा प्रविधिको प्रयोग गरेर जानुपर्ने बताइन् ।

‘अब हामीले हरेक चिजमा प्रविधिको प्रयोग गर्नुपर्छ । नापीसँग जोडिएका प्रविधिलाई अधिकतम प्रयोग गर्ने र अझै बढी आधुनिक प्रविधिहरु भित्र्याउने र भूमिलाई व्यवस्थित गर्ने’, मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले अहिले कानुन बन्नेक्रममा रहेको समेत बताइन । ‘समग्रमा जग्गा व्यवस्थापनको कानुन बन्न सकेको छैन । हामी यसमा लागेका छौ’, उनले भनिन् । भूमि मन्त्रालय अन्तर्गतको कार्यालयहरुको छबि जनतामाझमा बिग्रिएको भन्दै मन्त्री अर्यालले बिग्रेको छबि सुधार गर्ने कुरामा आफू चिन्तित रहेको बताइन् ।

अहिले अप्ठ्यारो परिस्थिति रहेको भन्दै उनले ती कार्यालयहरुको शुद्धताका निम्ति सहयोग गर्न कर्मचारीलाई आग्रह गरिन् । ‘मन्त्रालयको काँधमा आएको अभिभारालाई पुरा गर्नका निम्ति तपाईहरुले हामीलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ’ मन्त्री अर्यालले भनिन्, ‘तपाईहरुको संस्था पेशागत हकहितको कुरा मात्रै गर्ने नभएर तपाईहरु यो देशको नागरिक भएकोले राष्ट्रको उन्नति, प्रगति, विकासका निम्ति, सुशासनका निम्ति तपाईहरुले पनि हामीलाई सहयोग गर्नुस् । राज्यलाई सहयोग गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’

Publish on: