नेपाल चीनबीच पारबहन र प्रोटोकलको सात सम्झौतामा हस्ताक्षर « Eglish Khabarhub

नेपाल चीनबीच पारबहन र प्रोटोकलको सात सम्झौतामा हस्ताक्षर



बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि राष्ट्रप्रमुखहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।

पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेङले हस्ताक्षर गरे ।

त्यस्तै चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानले हस्ताक्षर गरे ।

आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गरे ।

भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गरे । नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गरे ।

सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर गरे । उक्त अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

सम्झौतामा हस्ताक्षर अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन् । आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि धन्यवाद व्यक्त गरिन् ।

चिनियाँ राष्ट्रपति सीले अन्तरराष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गर्नुभएको उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताए ।रासस

Publish on: