सगरमाथाको उचाइ नाप्न गएको टोली फर्कियो « Eglish Khabarhub

सगरमाथाको उचाइ नाप्न गएको टोली फर्कियो




काठमाडौं । सगरमाथाको उचाइ मापन गर्न गएको सरकारी टोली बिहीबार काठमाडौं फर्किएको छ । नेपाल सरकारका तर्फबाट आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो ।

सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्वागत गरिन् । मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतले सगरमाथाको उचाइ मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीलाई फुलमाला र टिकाले स्वागत गरे ।

मन्त्री अर्यालले ६ महिनाभित्र सगरमागथाको उचाइ कति हो थाहा हुने जानकारी दिइन् । गत चैत २७ गते सगरमाथाको उचाइ नाप्नका निम्ती नापी विभागका प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो ।

टोली सगरमाथाको चुचुरोमा १ घण्टा १६ मिनेट बिताएको थियो ।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपालले सगरमाथाको उचाइ मापन गर्ने निर्णय गरेको थियो ।

सगरमाथताको उचाइ करिब १७० वर्षअघि मापन भएको थियो । सन् २००५ मा चीनले नेशनल ब्युरो अफ सर्भेइङ एण्ड म्यापिङले ८८४४.४३ मिटर उचाइ मापन गरेको थियो । अमेरिकाले सन् २००० मा ८८५० मिटर उचाइ रहेको उल्लेख गरेको थियो । इटलिले सन् १९९२ मा ८८४८.६५ मिटर उचाइ मापन गरेको थियो । सन् १९७५ मा चीनले ८८४८.१३ मिटर मापन गरेको थियो । त्यस्तै, सन् १९५४ मा सर्भे अफ इण्डियाले ८८४८ मिटरको उचाइ मापन गरेको थियो भने सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८८४०.५० मिटर उचाइ मापन गरेको थियो ।

Publish on: