काठमाडौं । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओबादीले आहवान गरेको नेपाल बन्दलाई प्रभाबकारी बनाउने भन्दै कतै गाडीमा आगजनी र तोडफोड गरिएको छ भने कतै विष्फोटक पदार्थ राखिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।
त्यसै गरी नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
बन्द गर्ने क्रममा मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ । मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ । हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उनले बताए । आगजनीका कारण मानवीय क्षति भने भएको छैन । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ । नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो । इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ ।
पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ । यसैबीच, नेत्रविक्रम चन्द (विप्लव) समूहद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ । बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुुसार कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ । रासस