काठमाडौं । प्रभु बैंकले सिभिल बैंकलाई मर्जरको प्रस्ताव गरेको छ । प्रभुले शुक्रबार मर्जरको औपचारिक प्रस्ताव पठाएको सिभिल बैंक स्रोतले क्लिकमाण्डूलाई जानकारी दियो ।
‘हामीलाई आधा दर्जनभन्दा बढी दोस्रो र तेस्रो पुस्ताका राम्रा बैंकहरुले मर्जरका लागि प्रस्ताव गरेका छन्,’ सिभिल बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘प्रभुसँग अनौपचारिकरुपमा त केही कुरा भइरहेको थियो, तर गत शुक्रबार भने औपचारिकरुपमै प्रस्ताव गरेको छ ।’
प्रभुको प्रस्तावमाथि आन्तरिक छलफल भइरहेको सिभिल स्रोतले बतायो ।
‘हामी अहिले आन्तरिक छलफल गरिरहेका छौं, मर्जरका लागि हाम्रो पहिलो प्राथमिकता राम्रो बैंक र राम्रो ग्रुप हो,’ सिभिल स्रोतले भन्यो, ‘दोस्रो भनेको जसले बढी स्वाप रेसियो दिन्छ त्यसैसँग मर्जरमा जान्छौं ।’
सिभिल बैंकलाई बजारभरी बैंक अफ काठमाण्डू, प्राइम, सिटिजन्स, लक्ष्मी, ग्लोबल आइएमइ, प्रभु लगायतका बैंकले मर्जरको प्रस्ताव गरेका छन् भने एनआइसी एशियाभित्र सिभिलको कुराकानी भएको पनि उस्तै चर्चा छ ।
जब प्रभुले पर्ख र हेरको रणनीति बदल्यो
प्रभु बैंक मर्जरका लागि मौद्रिक नीतिसम्म पर्ख र हेरको रणनीति अपनाएर बसेको थियो । राष्ट्र बैंकले बिग मर्जर भनेपनि बजारले त्यसलाई कसरी लिन्छ र राष्ट्र बैंकले मौद्रिक नीतिमा के कस्तो नीतिगत व्यवस्था गर्छ भनेर कुरेर बसेको थियो ।
तर, जब अर्थ मन्त्रालयका जिम्मेवार व्यक्तिहरुले नै बैंकहरु मर्जरमा जानै पर्छ भनेर अभिव्यक्ति दिए अनि ग्लोबल बैंकले जनता बैंक गाभ्ने सम्झौता भयो तब प्रभुले पनि मर्जरको छलफललाई तीब्र बनाएको हो ।
ग्लोबल र जनता बैंकको मर्जरलाई बजारले अर्थपूर्ण रुपमा हेरेको छ ।
स्रोतका अनुसार प्रभु बैंकले मेगासँग पनि मर्जरको छलफल गरिरहेको छ । मेगामा कसैको पनि मेजोरिटी होल्डिङ नभएकाले व्यवस्थापन गर्न सजिलो हुने प्रभुका लगानीकर्ताहरुको ठहर छ ।
सस्तोमै पाइने भएकाले प्रभु बैंक सिभिल बैंकप्रति बढी आकर्षित भएको हो । सस्तोमा पाए सिभिल गाभ्ने र महंगो हाल्नुपर्ने भए मेगा गाभ्ने प्रभुका लगानीकर्ताहरुको सोच छ ।
सिभिल र मेगासँग कुरा नमिले सिटिजन्स उपयुक्त हुनसक्ने भन्दै प्रभुले सिटिजन्स बैंकतिर पनि नजर लगाएको स्रोतहरुको दाबी छ ।
प्रभु बैंक अरु बैंकलाई आफूसँग गाभ्ने योजना अनुसार अघि बढिरहेको छ । तत्कालीन प्रभु फाइनान्सले किष्ट र ग्राण्ड दुई वाणिज्य बैंकसहित, नेपाल विकास बैंक, जेनिथ फाइनान्स, गौरीशंकर विकास बैंक, वैभव फाइनान्स, समवृद्धि विकास बैंकलाई गाभेर प्रभु बैंकको रुपमा सञ्चालन भइरहेको छ ।
प्रभु बैंक व्यावसायिक घराना प्रभु समूहको ठूलो लगानी भएको बैंक हो । प्रभु समूह पछिल्लो समय व्यावसायिक जगतमा उल्लेख्य प्रगति गरेको समूहको हो । यो समूहको अध्यक्षमा देवीप्रकाश भट्टचन छन् ।
प्रभु समूहले प्रभु बैंक, प्रभु लाइफ र ननलाइफ इन्सोरेन्स, प्रभु रेमिट्यान्स, प्रभु सहकारी, प्रभु पे, प्रभु हेलिकप्टर, प्रभु टिभी लगायत सञ्चालन गरिरहेको छ ।
SHARE YOUR THOUGHTS