काठमाडौं । बीमा समितिले केही बीमा पोलिसिमा कडाइ गर्ने भएको छ । बीमाका नाममा अपराधिक घटनाहरु बढ्न थालेपछि समितिले यसमा कडाइ गर्न लागिएको बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिए ।
‘बीमा गर्नेले कति बीमा रकमको गरेको छ भन्दा पनि उसले बीमा गरेको रकमको प्रिमियम तिर्न सक्छ कि सक्दैन ? उसले गरेको आम्दानीबाट राज्यलाई कर तिरेको छ कि छैन ? भन्नेकुरा हामी राम्रोसँग हेर्छौं,’ अध्यक्ष चापागाईंले भने ।
रौतहट र पोखराको घटनापछि दम्पति बीमा गर्दा दुवै जनाको आम्दानी हुनु पर्ने खालको व्यवस्था बीमा समितिले गर्न अग्रसर देखिएको हो ।
‘श्रीमती निराक्षर र गृहीणी छ भने उसको बीमा थोरै रकमको गर्न सकिने, साक्षर तर गृहिणी छ भने यसको बीमा अलि बढी गर्न पनि सकिने खालको नीति ल्याउने तयार गरिरहेका छौं,’ चापागाईले भने, ‘मान्छेको मूल्याङकन पैसामा हुन थालेपछि यो विषयलाई गम्भिररुपमा लिएका छौं ।’
दम्पती बीमा गर्ने हो ? कुन बीमा कम्पनीमा गर्दा कति खर्च लाग्छ, के फाइदा हुन्छ ? (सूचिसहित)
केही समयअघि कास्की जिल्लाको पोखरास्थित चिप्लेढुङगामा मोबाइल व्यवसाय गर्दै आएका रमेश नेपालीले बीमाको रकमका लागि श्रीमतीको हत्या गरे । उनले श्रीमतीको नाममा १ करोड रुपैयाँको बीमा गरेका थिए ।
उक्त १ करोड रुपैयाँ लिनका नेपालीले श्रीमतीको हत्या नै गरे । बीमाबाट भुक्तानी लिएर अर्को घरजम गर्ने उनको योजना रहेको अनुसन्धानका क्रममा पुष्टि भइसकेको छ । नेपालीले गत फागुन २९ गते श्रीमतीको युनियन लाइफ इन्स्योरेन्समा एक करोडको बीमा गरेका थिए ।
यस्तै रौतहट मौलापुर–६ निवासी ३९ बर्षिय राम किशोर राय यादवले ४ वर्षे छोरीको बीमा गरेर उक्त बीमा रकम दाबी गर्न हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । यी घटनाबाट पनि समितिले र बीमा कम्पनीहरु बढी सचेत भएको बताइएको छ ।
‘श्रीमान/श्रीमति दुबैको राम्रो आम्दानी छ र प्रिमियम तिर्न सक्छन् भने आफ्नो क्षमताअनुसारको बीमा गर्न सक्छन्,’ चापागाईंले भने, ‘एक जनाको कमाई देखाएर २ जनाको प्रिमियम तिर्दा समस्या देखिएको छ । हामीले यसमा कडाई गर्न लागेका हौं ।’
बीमाको प्रिमियम तिर्दा कर तिरेको सम्पत्तिबाट तिरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको उनले बताए ।
समितिले त्यस्ता लुपहोलहरुमा बीमा कम्पनीले बढी ब्यापारको नाममा गर्ने त्रुटी, बीमा गर्ने मान्छेको आर्थिक अवस्था, उसले राज्यलाई कर तिरेको वा नतिरेको, एजेन्टको प्रस्तुतीलाई मानेको छ । यस्ता समस्या देखेपछि समितिले केही कम्पनीका अधिकारीलाई बोलाएर गरेको छलफल पनि गरिसकेको छ ।
उक्त छलफलका क्रममा बीमा समितिले देखेको समस्या स्वीकार्दै ती समस्या समाधानको लागि बीमा कम्पनीका प्रतिनिधिहरु आफुले गर्न सक्ने सहयोगमा सदैव तत्पर रहेको प्रतिबद्धता पनि जनाएका छन् ।
बीमा कम्पनीहरुले ब्यापार बढाउन गरेको अश्वस्थ प्रतिस्पर्धाले पनि समस्या सिर्जना गरेको छ ।
अहिले बीमा कम्पनीहरुले व्यापार दिँदा सावधानी नअपनाएको पाएको र अहिले स्वच्छ रुपमा बीमा गर्नु भन्दा पनि मेरो पालामा बिजनेश बढोस् भन्ने धेरैको चाहना देखिएकोले पनि समस्या सिर्जना भएको समितिको ठहर छ ।
यस्तै एजेन्टको विषयमा पनि समितिले केही चनाखो पनि हुने भएको छ । एजेन्टले गर्ने ट्रिटले पनि भर पार्ने भएकाले त्यसमा पनि समेत हुने खालको व्यवस्था गर्ने तयारीमा समिति रहेको बताइएको छ ।
केही समययता कतिपयमा लागु औषधको सेवनले पनि यताकता समस्या सृजना गर्छ कि भन्ने चिन्तामा समिति परेको छ । अब बीमा गराउँदा पनि अल्कोहलीकको विषयमा पनि ध्यान दिनु पर्ने आएको बताइन थालेको छ ।
SHARE YOUR THOUGHTS