काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नियमित रुपमा विद्युत उपलब्ध गराउन थालेपछि विद्युत खपत दरमा उल्लेख्य सुधार भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा ३ अर्ब ७२ करोड युनिट विद्युत खपत भएकोमा त्यो बढेर आर्थिक वर्ष २०७५/७६ मा ६ अर्ब ३८ करोड युनिट पुगेको छ ।
प्रतिशतका आधारमा आव २०७२/७३ को तुलनामा आव २०७५/७६ मा पुग्दा ७२ प्रतिशत बढी हो ।
२०७३ साल भदौ ३० गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले नियमति रुपमा विद्युत उपलब्ध गराउन थालेपछि विद्युत खपत दरमा समेत उल्लेख्य सुधार देखिएको हो ।
लोडसेडिङको समयमा शहरी उपभोक्ताले बत्ति बाल्न, पानी तान्न र अन्य व्यवसायिक प्रयोजनका लागि एकैपटक बढी विद्युत प्रयोग गर्ने गरेपनि खाना पकाउन भने ग्यास र अन्य स्रोतकै प्रयोग गर्ने गरेका थिए ।
नियमति रुपमा विद्युत उपलब्ध हुन थालेपछि घरायासी प्रयोगका साथै अन्य काममा समेत विद्युतको सघन प्रयोग हुन थाल्दा खपत दरमा समेत आकाश जमिनको फरक देखिएको हो ।
नियमित विद्युत आपूर्तीपछि जनजीवनमा मात्रै नभइ आर्थिक उत्पादनमा समेत त्यसले सकारात्मक प्रभाव पारेको छ । २०७४/७५ मा ३७ प्रतिशतले बढेको पेट्रोलियम पदार्थको आयात आव २०७५/७६ मा २८ प्रतिशतले घटेको छ ।
नियमित विद्युत आपूर्तीपछि विद्युत प्रयोग गर्नेको संख्यामा भएको बढोत्तरीले पनि विद्युत खपत दरमा वृद्धि भएको हो ।
चालु आवको अन्त्यसम्म केन्द्रीय प्रणालीमा थप १ हजार ३०० मेगावाट विद्युत उपलब्ध हुने भएपछि खपत दर बढाउनुपर्ने चुनौती भने थपिएको छ ।
SHARE YOUR THOUGHTS