काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष जीवा लामिछाने र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको दोर्दी खोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।
लमजुङमा आयोजना स्थल रहेको सो आयोजनाको कूल २ हजार ७८० मिटर लामो सुरुङ निर्माण सम्पन्न भएको हो ।
आइतबार सो आयोजनाको निर्माणाधिन सुरुङ निर्माण सम्पन्न भएको हो ।
हिमालयन पावर पार्टनर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको कुल क्षमता २७ मेगावाट रहेको छ । सबै काम पूरा गरेर आगामी चैतभित्र बिजुली बाल्ने लक्ष्य आयोजनाले राखेको छ ।
विद्युतगृहको काम पनि ९० प्रतिशत सम्पन्न भएको छ ।
आयोजना निर्माण सम्पन्न हुने समयमा नेपाल विद्युत् प्राधिकरणले दोर्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न गर्ने जनाएको छ ।
आयोजनाले यही भदौमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर तोकिएको समयमा आयोजना सम्पन्न हुन सकेन ।
आयोजनाको कूल लागत ४ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ ।
हिमालयन पावर पार्टनर कम्पनीमा जीवाका अलावा चन्द्र ढकाल, महेशकुमार श्रेष्ठ, गुरुप्रसाद ढकाल, अम्बिकाप्रसाद पौडेल, नारायणबाबु लोहनी, हेमन्तकुमार दडावी सञ्चालक छन् ।
SHARE YOUR THOUGHTS