उप-निर्वाचनमा रवीन्द्र पत्नी विद्यासहित नेकपाले सिफारिस गर्यो ३ जनाको नाम « Eglish Khabarhub

उप-निर्वाचनमा रवीन्द्र पत्नी विद्यासहित नेकपाले सिफारिस गर्यो ३ जनाको नाम



काठमाडौं । नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।

सिफारिस हुनेमा स्वर्गिय पर्यटनमन्त्रीa रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ छन् ।

प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका थिए ।

यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिस गरे पनि केन्द्रले ३ जनाको नाम सिफारिस गर्न भनेकाले २ जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहेका करणलाई सिफारिस गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिए ।
आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

यसैबीच नेपाली कांग्रेस १६ जनाको नाम सिफारिस गरेर पठाएको छ भने उम्मेदवारको बारेमा आज टुंगो लगाउने भन्दै पदाधिकारी बैठक बस्ने बताइएको छ ।

Publish on: