नक्कली लाइसेन्स बनाइदिने यातायातका उपसचिवसहित ३८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर « Eglish Khabarhub

नक्कली लाइसेन्स बनाइदिने यातायातका उपसचिवसहित ३८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले यातायात व्यवस्था कार्यालयका ३८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय ललितपुरबाट २०६९ बैशाख, जेठ र असार महिनामा प्रयोगात्मक परीक्षामा फेल भए पनि १२८४ जना परीक्षार्थीलाई गैरकानूनी तरिकाबाट उत्तीर्ण गराएको अख्तियारले आरोप लगाएको छ ।

कर्मचारीविरुद्ध नक्कली परीक्षार्थीबाट कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजस्व समेत नलिइ राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

अख्तियारले कार्यालय प्रमुख, उपसचिव आनन्द केशरी पोखरेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिम कसुर पुष्टि भएकाले ८ लाख ५९ हजार ५५० रुपैयाँ बिगो सहित मुद्दा दायर गरेको हो । पोखरेल विरुद्ध अख्तियारले बिगोको दोब्बर जरिवाना माग गरेको छ ।

साथै, तत्कालिन इन्जिनियर बासुदेव पोखरेलविरुद्ध ३ लाख ४६ हजार ७५० रुपैयाँ बिगोसहित मुद्दा दायर गरिएको छ । उनीविरुद्ध पनि बिगोको दोब्बर जरिवाना माग गरिएको छ ।

त्यस्तै, प्रहरी निरिक्षक मुरारी मिश्रविरुद्ध २४ हजार ३०० रुपैयाँ बिगो दाबी गरिइएको छ भने बिगोको दोब्बर जरिवाना माग गरिएको छ ।

अख्तियारले तत्कालिन प्रहरी निरिक्षक, हाल प्रहरी नायव उपरिक्षक नवराज थापा विरुद्ध २४ हजार ९०० रुपैयाँको बिगो दाबी सहित बिगोको दोब्बर जरिवाना माग गर्दै मुद्दा दायर गरेको छ ।

त्यस्तै, अवकास भइसकेका शाखा अधिकृत राममणी पोखरेलविरुद्ध ३५ हजार ९०० रुपैयाँ बिगो, निलम्बित शाखा अधिकृत ईश्वरराज रेग्मीविरुद्ध ३० हजार रुपैयाँ बिगो, शाखा अधिकृत शम्भुप्रसाद थपलियाविरुद्ध ११ हजार १०० रुपैयाँ बिगो, तत्कालिन शाखा अधिकृत, हाल उपसचिव रहेका धर्मराज ढुंगानालाई ३ हजार २०० रुपैयाँ बिगो, तत्कालिन शाखा अधिकृत, हाल उपसचिव बाबुलाल रेग्मीविरुद्ध ७०० रुपैयाँ बिगो दाबी सहित अख्तियारले मुद्दा दायर गरेको छ । यी सबैजनालाई बिगोको दोब्बर जरिवानाको माग गरिएको छ ।

अन्य कर्मचारीको नाम र बिगो रकम 

Publish on: