वैदेशिक लगानी स्वीकृतिका लागि नेपाल वाटरले दियो लगानी बोर्डमा आवेदन , ५१ अर्ब वैदेशिक लगानी भित्रदै « Eglish Khabarhub

वैदेशिक लगानी स्वीकृतिका लागि नेपाल वाटरले दियो लगानी बोर्डमा आवेदन , ५१ अर्ब वैदेशिक लगानी भित्रदै



काठमाडौं । माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले वैदेशिक लगानी स्वीकृतिका लागि लगानी बोर्डमा आवेदन दिएको छ ।

गत कात्तिक १५ गते आयोजनाको लागि आवश्यक लगानी जुटाएको कम्पनीले रसुवा जिल्लामा प्रत्यक्ष वैदेशिक लगानीमा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली—१ जलविद्युत आयोजना निर्माण गर्न लागेको छ ।

कम्पनीका एक अधिकारीले कात्तिकको अन्तिम साता नै आफूहरुले लगानी बोडृका वैदेशिक लगानी स्वीकृतिका लागि आवेदन दिएको जनाएका छन् । उनले बोर्डले आवश्यक निर्णय गरेपछि वैदेशिक लगानी भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकले अनुमति दिन्छ ।

बोर्डको निर्णय लगत्तै नेपाल राष्ट्र बैंकबाट पनि स्वीकृति हुने व्यवस्था छ । विद्यमान वैदेशिक लगानी सम्बन्धी ऐनले ठूलो लगानीका स्वदेशी तथा विदेशी उद्योगलाई समेत बोर्डबाट स्वीकृति लिर्नैपर्ने व्यवस्था गरेको छ ।

आयोजनाको लगानी ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाइएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसमेत गरी) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ ।

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ जलविद्युत् आयोजना हालसम्मकै ठूलो आयोजना हो ।

विश्व बैक समूहको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)ले १६ करोड १३ लाख, एसियाली विकास बैक(एडिबी)ले ६ करोड, एसियाली पूर्वाधार लगानी बैंक(एआईआईबी)ले ३ करोड ९६ लाख, कोरियाली निर्यात–आयात बैक(केएक्जिम)ले१० करोड,कोरिया डेभलप्मेन्ट बैक (केडिबी)ले ३ करोड ८ लाख डलर आयोजनामा ऋण लगानी गर्ने छन् ।

यसैगरी, सिडिसी ग्रुप पिएलसी (सिडीसी)को २ करोड १९ लाख,नेदरल्याण्ड डेभलप्मेन्ट फाइनान्स कम्पनी (एफएमओ)को १ करोड ५४लाख,फ्रेन्च डेभलप्मेन्ट फाइनान्सियल इन्ष्टिच्यूसन (प्रोपारको) १ करोड १० लाख र अन्तराष्ट्रिय विकासका लागि ओपेक फण्डको (ओएफआईडी) १ करोड ३२ लाख डलर ऋण लगानी रहने छ । द बैक अफ न्यूयोर्क मेलनले ‘अफसोर एकाउण्ट’ र नेपाल इन्भेष्टमेन्ट बैकले ‘अनसोर एकाउण्ट’ बैकको रुपमा काम गर्ने छन् ।

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट क्षमता विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुने छ ।

नेपाल सरकार र नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीप्रालिबीच १४ पुस २०७३मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच १४ माघ २०७४ विद्युत् खरिद बिक्री सम्झौता भएको थियो ।

प्राधिकरणले आयोजनाको विद्युत् खरिद गरे वापत अधितकम दश वर्ष वा व्यवसायीक विद्युत् उत्पादन सुरु दिन (सिओडी) देखि ऋण चुत्ता अवधि(पे–व्याक पिरियड) जुन अघि हुन्छ सोही अवधि सम्मका लागि ऋणको अंशमा मात्रै डलरमा भुत्तानी गर्ने छ । उक्त अवधि सकिएपछि बा“की पीपीए अवधिभर सबै रकम नेपाली रुपैयाँमा भुत्तानी हुने व्यवस्था गरिएकोे छ ।

प्राधिकरणले आयोजनाको विद्युत सुक्खायाम र वर्षायामा क्रमश ः रु ८.४० र ४.८० प्रति युनिट दरमा खरिद गर्ने छ । स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली–१लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यबृद्धि पाउने व्यवस्था गरिएको छ ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिमा कोरियन कम्पनीहरु कोएनको ५० प्रतिशत, डेलिमको १५ प्रतिशत तथा क्येर्योङको १० प्रतिशत, आइएफसीको १५ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत शेयर लगानी रहेको छ । साथै आयोजना प्रभावित स्थानीय जनताको लागि अधिकतम १० प्रतिशत शेयर लगानी सुनिश्चित गरिएको छ ।

Publish on: