खलंगा । जुम्लाको पातारासी गाउँपालिकाले जन्मिए लगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराए लगत्तै गाउँपालिकाले ३ हजार रुपैयाँ र अभिभावकले ३ हजार रुपैयाँ गरी एकैपटक ६ हजार रुपैयाँ जम्मा गरिदिने गरेको छ ।
सम्पूर्ण गाउँपालिकावासीलाई बैंकको पहुँचमा पु¥याउने र वित्तीय साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको शुरुवात गरिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको प्रमाण पेश गरेमा गाउँपालिकाले ३ हजार रुपैयाँ बच्चाको नाममा जम्मा गरिदिने गरेको छ ।
स्वास्थ्य संस्थामा बच्चा जन्मिएको प्रमाणसहित जन्मदर्ता गराएकै दिन बैंक खाता खोलेर रकम जम्मा गरिदिने गरेको अध्यक्ष बोहोराले बताए ।
गत वर्षसम्म २ हजार ५०० जम्मा गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि ५०० थप गरी ३ हजार रुपैयाँ पुर्याएको र उच्च शिक्षा हासिल गर्न एकैपटक धेरै रकम आवश्यक पर्ने हुँदा जन्मेदेखि बचत गरेमा सहज हुने हेतुले यो कार्यक्रम गाउँपालिकाले लागू गरेको अध्यक्ष बोहोराले बताए ।
‘अहिले विभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ’, अध्यक्ष बोहोराले भने, ‘कम्तीमा बालबालिकाकै खाता भयो भने बचत गरिदिऊँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ, यसले आर्थिक अवस्था मजबुत गर्छ भन्ने हाम्रो विश्वास हो ।’
घरमै सुडेनीका भरमा हुने गरेका असुरक्षित प्रसूती कार्यलाई शून्य बनाउन यस कार्यक्रमले मद्दत गर्ने अध्यक्ष बोहोराले बताए ।
प्रतिक्रिया दिनुहोस्