काठमाडौं । मोडलिङ गराइ दिनभन्दै एक जना युवती काठमाडौमा भारत लगी बलि दिने षडयन्त्रमा संलग्न ७ जनालाई प्रहरीले गत पुस ७ गते पक्राउ गरेको छ ।
उनीहरुले ती युवतीलाई भारतमा लगी बलि दिने योजना बनाइरहेको अवस्थामा प्रहरीको विशेष टोलीले बिराटनगर पुलचोक बुढिगंगा-१ बाट उनीहरुलाई पक्राउ गरेको थियो ।
धादिङ घर भइ हाल काठमाडौ सितापाइला बस्ने प्रेममाया तामाङसँग ती युवतीको भेट हुन्छ । भेटमा ती युवतीले प्रेममायालाई आफू मोडलिङ गर्न चाहेको बताउँछिन् ।
प्रेममायाले ती युवतीलाई मोडलिङ क्षेत्रका केही व्यक्तिलाई आफूले नजिकबाट चिन्ने भन्दै उनीहरु मार्फत् मोडलिङमा लगाइदिने बाचा गर्छिन । प्रेममायाले ती युवतीलाई मोडलिङका लागि ६ फिट उचाइ हुनैपर्ने सर्त राख्छिन् ।
प्रस्तावको प्रलोभनमा परेर युवतीले आफ्नो उचाइको नाप लिन प्रेममायालाई स्वीकृति दिन्छन् । त्यसपछि पे्रममायाले ती युवतीको उचाइ नापेको भिडियो बनाएर बिराटनगर बस्ने उमेश शाहलाई पठाउँछिन् । युवतीको भिडियो हेरेर उमेशले मोडलिङका लागि उपयुक्त भएको बताउँछन् ।
उमेशले युवतीलाई लिएर बिराटनगर आउन प्रेममायालाई भन्छन् । त्यसअघि उमेश र प्रेममायाले ती युवतीलाई महिनावारी भए नभएको, घाउ चोटपटक वा कुनै अप्रेसन गरे नगरेको सोधपुछ गर्छन् ।
यसरी मोडलिङका लागि आन्तरिक कुराहरु सोधिएपछि ती युवतीको परिवारले पे्रममाया र उमेशमाथि शंका लागेर २०७६ पुष ४ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी गराउँछन् ।
यसैबीच प्रेममायाले ती युवतीलाई कृष्ण तामाङसँग परिचय गराइन् । कृष्णले पुष ६ गते नै बिराटनगर पठाउन बन्दोबस्त मिलाएका थिए । त्यसका लागि कृष्णले काठमाडौं–बिराटनगरको हवाई टिकट र २६ हजार रुपैयाँ पठाइसकेका थिए ।
तर प्राविधिक कारणले सो दिन उनीहरु बिराटनगर जान सकेनन् । त्यसको भोलिपल्ट ती युवती बिहान १०ः३० मा बृद्धएयरको उडानबाट दिलकुमारी बुढाको साथमा बिराटनगर पुगिन ।
ती युवतीको परिवारले प्रहरीमा जानकारी दिएपछि प्रहरीले बिषेश टोली परिचालन गरिसकेको थियो । प्रहरीको बिषेश टोली ती युवतीलाई पछ्याउँदै बिराटनगरसम्म अनुसन्धानमा खटिएको थियो ।
बिराटनगर विमानस्थलमा युवतीलाई लिन कृष्ण तामाङ र उमेश शाह पुगिसकेका थिए । उनीहरुले युवतीलाई भेटी भ्यानमा राखेर बिराटनगरको रामजानकी मन्दिर छेउको खाजा घरमा लगेर राखे ।
त्यसको केही समयपछि बिराटनगरकै जलजलाचोकस्थित कालीमन्दिरको धर्मशालामा लगेर त्यहाँ २०५ र २०६ कोठा नम्बर बुक गरेर राखे । धर्मशालाको कोठामा पुगेर उमेश र कृष्णले युवतीको पुनः महिनावारी भए वा नभएको, घाउचोट पटक वा कुनै अप्रेशन गरे वा नगरेको र उचाइको चेकजाँच गरे ।
त्यति गरेर उमेश र कृष्ण केही समयपछि फर्किने भन्दै ती युवतीलाई कोठामा एक्लै छोडेर बाहिरिए । केही समयमा नै फर्किएर उमेश र कृष्णले युवतीलाई मोडल हुन तान्त्रिक पुजा गर्नुपर्ने भन्दै जोगवनी बोर्डर पारी लगेर मोडलिङ र पुजाका लागि आवश्यक लुगा किन्न लगाए ।
उनीहरु भने रञ्जित कुमार चौधरी र दिलिप पोदारसँग कुराकारी गर्न थाले ।
उनीहरुले युवतीलाई जोगवनीको बोर्डरहुँदै सीमापारी लैजाने योजना बनाइ रहेको अवस्थामा नै प्रहरीको बिषेश टोलीले बिराटनगर बुढीगंगा–१ बाट सोही दिन राति साढे ९ बजे पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार उनीहरुको मुख्य योजना नै ती युवतीलाई मोडल बनाइदिने भन्दै भारत लैजाने थियो । जसको मुख्य योजनाकार दिलिप पोदार थिए ।
पोदारलाई नेपालबाट ६ फिट उचाई भएको केटी ल्याउन भारतको बिहार मन्दिरको बाबालगायत अन्य व्यक्तिले पैसा दिएका थिए । युवतीलाई मोडल बनाइदिने बाहनामा बिराटनगरसम्म ल्याउन सहयोग गर्ने प्रेममाया र कृष्णलाई पोदारले ५ लाख रुपैयाँ दिने प्रलोभन देखाएका थिए ।
घटनामा संलग्न ती युवतीलाई नवलपरासी कावासोतीका २६ वर्षे कृष्ण तामाङ, सप्तरी जिल्ला राजबिराज १४ बस्ने ४० वर्षे उमेश शाह, दाङ घोराही १० बस्ने २४ वर्षे दिलकुमारी बुढामगर, सप्तरी सप्तकोसी ११ बस्ने ३५ वर्षे उमेश माझी, मोरङ बिराटनगर ८ का ५१ वर्षे दिलिप पोदार र धादिङ झार्लाङ ३ कि ५१ वर्षे प्रेममाया तामाङ र सुनसरी मधेली १ का ३७ वर्षे रञ्जित कुमार चौधरीलाई पक्राउ गरिसकेको छ ।
प्रहरीले उनीहरुबाट नगद १ लाख ९ हजार ५०० रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार रुपैयाँको चेक, कालो रंगको घागो, गेरु रंगको कपडा, कालो धागोले बाँधिएको चाँदीको जन्तर २ थान, कृष्ण तामाङको एटएिम कार्ड ७ थान र तान्त्रिक पूजाको सामग्रीहरु बरामद गरेको थियो ।
SHARE YOUR THOUGHTS