काठमाडौंका होर्डिङ बोर्ड हटाउन गृहमन्त्री रामबहादुर थापाको निर्देशन « Eglish Khabarhub

काठमाडौंका होर्डिङ बोर्ड हटाउन गृहमन्त्री रामबहादुर थापाको निर्देशन



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयमा भएको बैठकमा मन्त्री बादलले अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड तथा स्वीकृति लिएकालाई पनि आवश्यक परेमा हटाउन निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले क्लिकमाण्डूलाई जानकारी दिए ।

त्यसका लागि एउटा समिति बनाएर काम अगाडि बढाइने उनले बताए ।

‘महानगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, दुरसञ्चार प्राधिकरण, विद्युत प्राधिकरण, संघीय मामिला तथा सामान्य प्रशासन कार्यालयलगायतका सरोकारवालाको प्रतिनिधि सम्मिलत समिति गठन गरी काम अगाडि बढाइने छ,’ शर्माले भने ।

उनका अनुसार अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड, टेलिफोन, विद्युत, केबल तथा इन्टरनेटका तार हटाइनेछ । शर्माले तोकिएको समय सीमाभित्र तार हटाए काटेर हटाइने बैठकले निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्रालयका प्रतिनिधिसँगै संघीय मामिला तथा सामान्य प्रशासन, भौतिक पूर्वाधार, सहरी विकास, वन तथा वातावरण तथा महानगरका प्रतिनिधि थिए ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुक्रबारदेखि त्यस्ता संरचना हटाउन शुरु गर्ने बताए ।

यसअघि सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई होर्डिङ बोर्ड हटाउन आदेश दिएको थियो । चार वर्षअघि नै काठमाडौंभित्र होर्डिङ बोर्ड नराख्न र राखेको भए हटाउन आदेश दिएको थियो ।

२०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होर्डिङ बोर्ड निषेध गरेको थियो ।

Publish on: