२ वर्षपछि फेरि इक्यानमा फर्कियो सरोज बस्नेत समूह « Eglish Khabarhub

२ वर्षपछि फेरि इक्यानमा फर्कियो सरोज बस्नेत समूह



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बाट छुट्टिएर परस्पर संस्था नेका स्थापना गरेका सरोज बस्नेत नेतृत्वको टोली पुनः इक्यानमा फर्किएको छ ।

इक्यानका अनुसार बस्नेतसँगै झण्डै ३५ जनाको टिम इक्यानमा प्रवेश गर्न लागेको हो । इक्यानको साधारणसभा हुनु अगावै बस्नेतको टिम इक्यानमा प्रवेश गर्न लागेको इक्यानका एक अधिकारीले जानकारी दिए ।

इक्यानको निर्वाचनमा हार बेहोरेपछि बस्नेतसँगै नेपाली कांग्रेस निकट शैक्षिक परामर्श क्षेत्रका अधिकांश व्यवसायीले मिलेर नेका स्थापना गरेका थिए । तत्कालिन समयमा नेकामा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो ।

जसको संयोजक सन्तोष प्याकुरेल थिए ।

तर त्यसको एकवर्ष नपुग्दै टोलीमा विवाद सिर्जना भएपछि बस्नेत समूह असन्तुष्ट बनेको थियो । गत बैशाख महिनामा संयोजक प्याकुरेलले बस्नेतलाई नै अध्यक्ष बनाउने गरी लिखित प्रतिवद्धता जनाएका थिए ।

तर पनि बस्नेत समूहले नेकामा बस्न चाहेको थिएन । आर्थिक विवाद तथा कार्यकारी सदस्यबीच मतभेद भएपछि बस्नेत समूह बाहिरिएको थियो । अहिले नेकाको अध्यक्षमा सन्तोष प्याकुरेल निर्वाचित भइसकेका छन् ।

इक्यानका एक अधिकारीका अनुसार बस्नेत समूह नेकाले आईडीपी एजुकेशनलाई समर्थन गरेको भन्दै असन्तुष्ट बनेको थियो । शैक्षिक परामर्श क्षेत्रमा वैदेशिक लगानी आवश्यक नरहेको भन्दै इक्यानलगायत आइरिन, फेकन, जालसान र नायर जस्ता संघले सार्वजनिक रुपमै विरोध गरेका थिए ।

इक्यानले गत चैत महिनामै आफ्ना सदस्यहरुलाई आगामी दिनमा आईडीपीसँग सहकार्य नगर्ने भन्दै निर्देशन समेत दिइसकेको छ ।

Publish on: