वार्षिक सधारणसभा र नयाँ कार्यसमिति चयन एकैसाथ गर्ने इक्यानको निर्णय « Eglish Khabarhub

वार्षिक सधारणसभा र नयाँ कार्यसमिति चयन एकैसाथ गर्ने इक्यानको निर्णय



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आगामी पुस २६ गते वार्षिक साधारण सभा र नयाँ कार्यसमिति चयन एकैसाथ गर्ने भएको छ ।

२ वर्ष कार्यकालको जिम्मेवारी पाएको अध्यक्ष विष्णुहरि पाण्डेको कार्यसमितिले सधारण सभा र नयाँ कार्यसमिति छनोट एकै मितिमा गर्ने निर्णय गरेको हो ।

‘इक्यानलाई आर्थिक पारदर्शिता र सुशासन कायम गराउनका लागि साथै नयाँ पद्धतिको शुरुवात गर्नका लागि एकैसाथ साधारण सभा र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेका हौं,’ अध्यक्ष विष्णुहरि पाण्डेले क्लिकमाण्डूसँग भने ।

बिहीबार बसेको कार्यसमितिको बैठकले इक्यानबाट छुट्टिएर गएको सरोजकुमार बस्नेत समूहलाई समेत इक्यानमा ल्याउने निर्णय गर्यो । गत निर्वाचनमा पाण्डेसँग अध्यक्ष पदमा पराजित बस्नेत इक्यान छाडेका थिए । तर पाण्डेकै सोही कार्यकालमा उक्त समूहलाई इक्यानमै फर्काउन सफल भएको छ ।

बैठकले बस्नेत समूहका ४१ जना सदस्यलाई इक्यानमा ल्याउने, झापा र रुपन्देहीको नयाँ कार्यसमितिलाई अनुमोदन गर्ने निर्णय गर्यो ।

‘हामीले इक्यानलाई व्यवस्थित बनाउनका लागि एतिहासिक निर्णय गर्यौ, निर्वाचनमा जाँदा स्मार्ट इक्यान बनाउने नारालाई सावित गर्दैै स्मार्ट डिसिजन गरिएको हो,’ महासचिव शेषराज भट्टराईले भने ।

‘सरोजकुमार बस्नेतसँगै समूहलाई इक्यानमै ल्याउनु इक्यानसँगै समग्र शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गराउनका लागि गरिएको स्मार्ट निर्णय हो,’ भट्टराईले अगाडि थपे, ‘शैक्षिक परामर्श क्षेत्रको अभिभावकीय जिम्मवारी पूरा गर्न इक्यान फेरि पनि सफल भएको छ ।’

Publish on: