काठमाडौं । झण्डै ८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले २ सिफ्टमा गरी दैनिक झण्डै ५ हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ ।
२ महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत् यो संख्यामा छपाइ भइरहेको हो । केही दिनपछि नै दैनिक ३ सिफ्टमा ‘मास प्रिन्टर’ सञ्चालन हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
सो उपकरण निर्माण गर्ने कम्पनीले एकैपटक लामो समयसम्म सञ्चालन गर्न नहुने सल्लाहअनुसार अहिले २ सिफ्टमा सञ्चालन भइरहेको छ । छपाइमा रहेको ढिलाइ हटाउन केही दिनभित्रै दैनिक तीन ‘सिफ्ट’ मा अनुमतिपत्र छापिने भएको छ ।
मास प्रिन्टर दैनिक ३ सिफ्ट सञ्चालन गर्ने र अरु प्रिन्टरमार्फत् दैनिक ९ हजारसम्म चालक अनुमतिपत्र छपाइ गरिसक्ने योजना विभागको छ । आगामी चार÷पाँच महिनाभित्रैमा छापिसक्न बाँकी रहेका चालक अनुमतिपत्र छपाइ हुने उनको भनाइ छ ।
‘मास प्रिन्टर’सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ । पुराना ४ उपकरण मर्मत् गर्न लागिएको विभागले जनाएको छ । ३ ‘सिफ्ट’मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए ।
‘मास प्रिन्टर’ सञ्चालनकै लागि अहिले विभागका ७ जना कर्मचारीले अहिले तालिम लिइरहेका छन् । देशभरका यातायात व्यवस्था र्र्काालयबाट आएका आवेदनका आधारमा विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्दै आएको छ ।
SHARE YOUR THOUGHTS