काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विपद् क्षति न्युनीकरण र विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको परीक्षण गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।
काठमाडौँमहानगर पालिकाको वडा २५ मांसगल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म सम्भावित आगलागी नियन्त्रणका लागि बिछ्याइएको ४ इञ्चे फलामे पाइपबाट गरेको परीक्षणपछि मेयर शाक्यले भने ‘विपद् क्षति न्युनीकरण र विपद् व्यवस्थापनलाई महानगरले उच्च प्राथमिकतामा राखेको छ ।’
उनले महानगर क्षेत्र भित्र ऐतिहासिक, पुरात्वात्कि र पुराना बस्तीहरु धेरै रहेको भन्दै त्यस्ता घना बस्तीमा सम्भावित आगलागी नियन्त्रणका लागि महानगरपालिकाले योजना बनाइरहेको पनि बताए । उनले अब छिट्टै त्यसका लागि आवश्यक नीति बनाएरै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
‘दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुवै ठाउँको आगो नियन्त्रणका लागि योजनासहितको काम भइरहेको छ’, उनले भने,‘‘हामीले हनुमानढोका क्षेत्रमा मात्र रहेको अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन केन्द्रको शाखा विस्तार गरी वडा नम्बर–६ बौद्धस्थित रामहिटीमा भवन निर्माण गरेका छौँ । सो केन्द्रबाट गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र बूढानीलकण्ठ नगरले पनि लाभ उठाउन सक्नेछन् ।’
मेयर शाक्यले पाँच क्षेत्रमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्था मिलाउन चालु आबको नीति तथा कार्यक्रममै समावेश गरेको भन्दै दमकल जान नसक्ने स्थानमा तत्काल आगो नियन्त्रण गर्न सक्ने प्रविधिको विकास गर्ने पनि महानगरले योजना बनाएको बताए ।
महानगरपालिकाले थप दमकल खरिदका लागि १० करोड रुपैयाँ छुट्याएको छ । मेयर शाक्यले थप दमकल खरिद गरी सेवालाई थप सहज बनाउने जानकारी गराए । बिरामीको बाटैमा हुने मृत्युलाई घटाउन नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर महानगरले आधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याएको पनि उनले बताए ।
परीक्षण गरेको प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रबर्धन तथा सहभागिता कार्यक्रमको ५ लाख, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट २ लाख, संघ-संस्था र उपभोक्ताको २ लाख ४० हजार ६ सय १२ गरी ९ लाख ४० हजार ६ सय १२ रुपैयाँमा केल–मांसगल्ली उपभोक्ता समितिले जडान गरेको हो ।
SHARE YOUR THOUGHTS