काठमाडौं । राजस्व अनुसन्धान विभागले साढे १२ करोड रुपैयाँ बिगोसहित ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली कुल १२ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद दाबी गर्दै विभागले काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता गरेको हो ।
विभागका अनुसार काठमाडौं महानगरपालिका १६ बस्ने हाइ वे लिंक प्रालिका सञ्चालक तथा रोज इन्टरप्राइजेजका प्रोप्राइटर फिरोज मास्केसमेत ६ जनाले राजस्व चुहावट गरेको अभियोगमा उक्त मुद्दा दर्ता गरिएको हो ।
विभागले मास्केसँगै जनादर्न भण्डारी, भाइराजा श्रेष्ठ, देवराज अधिकारी, रोज इन्टरप्राइजेका प्रोप्राइटर फिरोज मास्के र वेस्ट वे सोलुसन प्रालिका सञ्चालक देवराज अधिकारी समेतले मालवस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर मात्र खरिद गरी सरकारलाई तिर्नुपर्ने कर नतिर्ने प्रपञ्च जालसाजी गरी मुअ कर र आयकर समेतको राजस्व चुहावटको कसुरमा संलग्नता देखिएको जनाएको छ ।
उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवम सोही ऐनको दफा ४ बमोजिम कसुर गरी लाभांश करतर्फ ७५ लाख ९७ हजार २०५ रुपैयाँ र आयकरतर्फ ७ करोड ७१ लाख १० हजार ३२ रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ४ करोड १० लाख ३९ हजार ३१३ रुपैयाँ गरी जम्मा १२ करोड ५७ लाख ३८ हजार ५५० रुपैयाँ बिगो रकम चुहावट गरेका थिए ।
विभागले उनीहरु विरुद्ध बिगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन तथा वेस्टवे लिंक प्रालिका कर्मचारीहरु अभिषेक कुमार आचार्य र सूर्यचन श्रेष्ठलाई राजस्व चुहावट ऐन, २०५२को दफा ३ र ४ को खण्ड (क) र (ख) बमोजिम राजस्व चुहावटमा मूख्य कसुरदारलाई सहयोग गरी मतियार भइ राजस्व चुहावटको कसुर गरेको देखिएकाले निज प्रतिवादीहरुलाई सोही ऐनको दफा २३ को उपदफा २ बमोजिक सजाय हुन माग दाबी गरी मुद्दा दर्ता गरिएको हो ।
SHARE YOUR THOUGHTS