सनराइज बैंकको नाफामा १९.१२ प्रतिशतले बढ्यो, खराब कर्जा बढ्यो « Eglish Khabarhub

सनराइज बैंकको नाफामा १९.१२ प्रतिशतले बढ्यो, खराब कर्जा बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सनराइज बैंकले नाफामा १९.१२ प्रतिशतले वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तको तुलनामा बैंकले चालु आवको सोही अवधिमा नाफामा १५ करोड १६ लाख रुपैयाँले वृद्धि गरी ९४ करोड ४३ लाख रुपैयाँ पुर्याएको हो । गत आवको दोस्रो त्रैमासमा बैंकले ७९ करोड २७लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले सञ्चालन नाफा १८.४२ प्रतिशतले वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तसम्ममा १ अर्ब १३ करोड ५१ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफामा १८.४२ प्रतिशतले वृद्धि गरी १ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ पुर्याएको हो ।

गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलनतर्फ ८.९१ प्रतिशत र कर्जा लगानीतर्फ ९.७६ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकले चालु आवको ६ महिनामा ८२ अर्ब १५ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ७५ अर्ब ४३ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले ब्याज आम्दानीतर्फ भने १८.९३ प्रतिशत वृद्धि गरेको छ । गत आवको ६ महिनामा १ अर्ब ७२ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा ब्याज आम्दानी १८.९३ प्रतिशतले वृद्धि गरी २ अर्ब ४ करोड ७४ लाख रुपैयाँ पुर्याएको छ । बैंकको वितरण योग्य नाफा भने ५१ करोड ९० लाख रुपैयाँ छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ४३ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा बैंकको खराब कर्जा अनुपात १.२६ रहेकोमा चालु आवको सोही अवधिमा ०.४३ प्रतिशतले बढेर खराब कर्जा अनुपात १.६९ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्मा बैंकको कष्ट अफ फण्ड ७.१४ प्रतिशत, प्रतिसेयर आम्दानी २१.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.२१ गुणा छ । साथै पुस मसान्तसम्म बैंकको आधार दर ९.९९ प्रतिशत र स्प्रेड दर ५.१४ प्रतिशत रहेको छ ।

Publish on: