काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा ५.५८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आवको पुस मसान्तमा १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा ७ करोड ९९ लाख रुपैयाँ नाफा बढाएर १ अर्ब ५० करोड ९९ लाख रुपैयाँ पुर्याएको हो ।
बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको सञ्चालन नाफा पनि ५.५७ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा २ अर्ब ४ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा ११ करोड ३९ लाख रुपैयाँले बढाएर २ अर्ब १५ करोड ६९ लाख रुपैयाँमा आर्जन गरेकोे हो ।
यसैगरी, गत वर्षको ६ महिनाको तुलनामा बैंकले निक्षेप संकलन ८.९७ प्रतिशत र कर्जा लगानीतर्फ १.०४ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब ४१ अर्ब १९ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ३३ करोड १ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आवको सोही अवधिमा बैंकले १ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकले ब्याज आम्दानीमा गत आवको ६ महिनाको तुलनामा ८.६६ प्रतिशतले वृद्धि गरेको छ । गत आवको ६ महिनामा २ अर्ब ६७ करोड १० लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा २३ करोड १३ लाख रुपैयाँले ब्याज आम्दानी बढाएर २ अर्ब ९० करोड २४ लाख रुपैयाँ पुर्याएको हो । बैंकको वितरणयोग्य नाफा भने ८६ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.१६ प्रतिशत, कष्ट अफ फण्ड ६.४४ प्रतिशत छ । साथै पुस मसान्तसम्म बैंकको आधारदर ८.८६ प्रतिशत, स्प्रेड दर ५.३३ र सीसीडी रेसियो ७५.०४ प्रतिशत छ ।
SHARE YOUR THOUGHTS