काठमाडौं । विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले निर्माण व्यवसायीले गतिलो काम नगर्ने अनी कालोसूचिबाट हटाउनु पर्यो भन्ने मागलाई समर्थन जनाउन नसकिने बताएकि छन् ।
समितिले निर्माण व्यवसायीसँग गरेको छलफलमा व्यवसायीलाई कालोसूचिमा राख्न नहुने कारण पहिल्याएर मात्रै राख्ने वा नराख्ने भन्ने व्यवस्था स्पष्ट गर्न आवश्यक रहेको उनको भनाइ छ ।
उनले अहिले निर्माण व्यवसायीमा गुणस्तरीयता नभएको, उनीहरुले प्रयोग गर्ने सामानमा पनि गुणस्तर कम भएकाले आगामी दिनमा त्यसलाई सच्याउनु पर्ने खड्काको भनाइ छ ।
निर्माण व्यवसायीले यसअघि जानाजान मिलिभगतमा नै कमसल निर्माण सामग्री प्रयोग गर्ने गरेको दाबी समेत उनले गरिन । यस्ता कम्पनीलाई कुनै पनि हालतमा कालोसूचीबाट हटाउन नसकिने उनको भनाइ छ ।
समितिको बैठकमा सभापति खड्काले कुनै पनि जनप्रतिनिधि ठेकेदार हुन नपाउने उल्लेख गरिन ।
समितिको बैठकमा सांसद गणेश पहाडीले समयमा नै निर्माण कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए । उनले अहिले लो बिडिङका कारण निर्माणको गुणस्तर निकै खस्केकाले यसमा पनि सरोकारवालाले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।
बैठकमा सांसदहरुले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान र नराम्रो काम गर्नेलाई निर्मम भएर कारबाही गर्न माग गरेका छन् ।
बैठकमा निर्माण व्यवसायीहरुले २ महिनाको अवधिमा २० वटा स्काभेटर जलाइएको जानकारी गराए । उनीहरुले निर्माण स्थलमा काम गर्ने वाताबरण नभएको समेत जानकारी गराए ।
निर्माण सामग्री जलाउने, कर्मचारीले अवरोध गरेको विषयमा सरकारलाई जानकारी गराउँदा कुनै पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।
SHARE YOUR THOUGHTS