काठमाडौं । छिमेकी मुलुक चीनमा फैलिएको ‘नोबेल कोरोना भाइरस’को असर पोखराको पर्यटन बजारमा देखिएको छ । अहिले पोखरा जाने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ भने पोखरा लगायत अन्य ठाउँका होटलको अकुपेन्सी पनि निकै कम छ ।
अझ शाहासिक पर्यटकीय खेल भनिने प्याराग्लाइडिङको व्यापार भने निकै घटेको छ । प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले कोरोना भाइरसका कारणले चिनियाँ पर्यटकको संख्या कम हुँदा दैनिक ८० प्रतिशत उडान कम भएको छ ।
‘दैनिक औसतमा ३०० भन्दा बढी प्याराग्लाइडिङको उडान हुनेमा सोमबार ५६ वटा मात्रै भयो, यो भूकम्पपछिको सबैभन्दा कम संख्या हो,’ उनले भने ।
उनका अनुसार पोखरामा अहिले ६१ वटा प्याराग्लाइडिङ सञ्चालन गर्ने कम्पनी छन् । जसमा ५०० भन्दा बढी पाइलट र २ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
तर चीनमा फैलिएको कोरोना भाइरसका कारण चिनियाँ पर्यटकको संख्यामा कमी आउँदा प्याराग्लाइडिङ उडान संख्या २०७२ सालको भूकम्पपछिकै सबैभन्दा कम बन्यो ।
उनका अनुसार आइतबार ११६ उडान भएका थिए भने सोमबार मात्रै ५६ वटा उडान भएका थिए । उनका अनुसार पोखराका यी कम्पनीमा १ अर्बभन्दा बढीको लगानी भइसकेको छ ।
रावतका अनुसार पोखरामा हुने उडानमा ६० प्रतिशत चिनियाँ नागरिक नै हुन्छन् । तर चिनियाँ पर्यटक कम भएसँगै व्यवसाय संकटमा पर्ने देखिएको छ । यसका लागि सरकारले पनि पर्यटनको क्षेत्रमा केही कदम चाल्नुपर्ने उनको सुझाव छ ।
‘हामी दैनिक २÷३ लाख र वार्षिक झण्डै १० करोड रुपैयाँ सरकारलाई राजस्व बुझाउँछौं, प्याराग्लाइडिङ खेल पनि भएकाले यसका लागि सरकारले सोच्नु पर्ने बेला आएको छ,’ रावतले भने ।
सोलो पाइलटको शुल्क घटाउनु पर्यो
नेपालमा वर्षेनी १ हजारभन्दा बढी सोलो प्याराग्लाइडरहरु आउँछन् । विश्वमा सोलो प्याराग्लाइडरहरु ८ लाखभन्दा बढी छन् । जसमध्ये हामीले वर्षेनी ५ हजारमात्रै ल्याउन सकियो भने मात्र पर्यटन प्रबद्र्धनमा सहयोग पुग्छ । उनीहरु नेपाल आउँछन्, भिडियो र तस्बिर सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार पनि गर्दछन् । त्यसैले सरकारले उनीहरुलाई लाग्ने शुल्कमा सहुलियत दिनुपर्ने रावतको माग छ ।
उनले राष्ट्रिय हवाई नीति २०७६ को मस्यौदामा सरकारले प्याराग्लाइडरलाई समेटेको उल्लेख गर्दै त्यस्ता पर्यटकबाट लिने शुल्कलाई घटाउन माग गरे ।
‘अहिले नागरिक उड्डयन प्राधिकरणले १५ दिनका लागि ५६ सय रुपैयाँ शुल्क लिन्छ, त्यसवापत ल्यान्डिङका लागि पनि गन्तव्यमा शुल्क लिइन्छ, प्राधिकरणले १५ दिनको समयलाई सोही शुल्कमा १ महिनाको बनाइदिए सहज हुने थियो,’ उनले भने ।
विदेशी सोलो प्याराग्लाइडरहरु नेपालमा यात्रा गर्न निकै मन पराउँछन् । खास गरी पोखराबाट हिमालको दृश्य नजिकबाट नियाल्न सकिने भएकाले पनि उनीहरु नेपालमा आउँछन मन पराउँछन् । पछिल्लो समयमा सरकारले धरानमा पनि आकाश प्रयोग गर्न पाउने सुविधा दिएसँगै त्यसतर्फ पनि प्याराग्लाइडरको संख्या बढेको छ ।
हाल नेपालमा ७५ वटा यस्ता कम्पनी छन् । जसमध्ये पोखरामा मात्रै ६१ वटा छन् भने ललितपुर, नुवाकोट, काठमाडौं, धरान, इलाम, सुर्खेत, संखुवासभामा एक–एक वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् ।
१ करोडको सञ्चालन पुँजी आवश्यक
सरकारले नयाँ ल्याउन लागेको हवाई नीतिमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनका लागि १ करोड रुपैयाँको पुँजी आवश्यक पर्ने उल्लेख गरेको छ । राष्ट्रिय हवाई नीति २०७६ को मस्यौदामा चुक्ता पुँजी ५० लाख रुपैयाँ र एओसी लिनका लागि चुक्ता पुँजीसहित सञ्चालन पुँजी १ करोड रुपैयाँ हुनुपर्ने उल्लेख गरिएको छ ।
SHARE YOUR THOUGHTS