काठमाडौं । यूरोपियन एसोस्पेस कम्पनी एयरबसले नेपाल वायु सेवा निगमका लागि २ वटा न्यारोबडी एयर बस ए३२० जेट खरिदका क्रममा ३ लाख ४० हजार अर्थात् ४ करोड २८ लाख रुपैयाँ घुस तिरेको खुलासा भएको छ ।
फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जारी गरेको कागजपत्रमा १.८ मिलियन अमेरिकी डलर विदेशी अधिकारीहरुका लागि घुसका रुपमा दिएको हुन सक्ने उल्लेख गरिएको छ ।
यद्यपि उक्त १८ लाख अमेरिकी डलर कसलाई दिइएका हो भन्नेमा भने अझै पुष्टि भइसकेको छैन । नेपालमा भने तेस्रो पक्षबाट उक्त रकम आएको शंका गरिएको छ ।
यस मामलामा भारतीय विमान कम्पनी एयर एसिया समेत मुछिएको छ । जसका कारण सीइओ र अध्यक्षलाई कम्तीमा २ महिनाका लागि पदबाट मंगलबार नै हटाइएको छ । उनीहरुलाई पनि सोही मुद्दामा संलग्न भएको शंका गरिएको छ ।
सन् २००९ मा दुबई एयर शोमा नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंगसाकारले वाइड बडी ए ३३०–२०० र न्यारो बढी ए३२० जेट खरिद गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
जस अनुसार दुबै विमान २ वर्षभित्र हस्तान्तरण गर्नका लागि अग्रीम भुक्तानीवापत ७ लाख ५० हजार अमेरिकी डलर बुझाइएको थियो ।
खुलासा भए अनुसार सन् २०१४ फेब्रुअरी र सन् २०१५ को अप्रिल महिनाबीचमा ३ लाख ४० हजार युरोपियन डलर तेस्रो पक्षबाट नेपाली व्यवसायीकहाँ आएको थियो ।
बेलायतमा रहेको सिरियस फ्रड अनुसन्धान कार्यालयले घुस लिएको भन्दै मलेसिया, श्रीलंका, ताइवान, इन्डोनेसिया र घानामा समेत अनुसन्धान गरेको थियो ।
साथै फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले घुस लिएको सम्बन्धि अनुसन्धानमा चीन, कोलम्बिया, नेपाल, दक्षिण कोरिया, यूएई, साउदी अरब, ताइबान र रसियामा समेत अनुसन्धान गरेको थियो ।
शुरुमा नेपाल एयरलाइन्ससँग ४२ मिलियन अमेरिकी डलरमा सम्झौता भए पनि सन् २०१३ मा त्यसलाई बढाएर ४७ मिलियन अमेरिकी डलर पुर्याइएको थियो ।
एयरबसले ३०० मिलियन डलरको वार्षिक बजेट भएको विभागलाई प्रयोग गरी सरकारी अधिकारी तथा विमान खरिदमा संलग्न भएकालाई रकम दिने गरेको थियो ।
SHARE YOUR THOUGHTS